सर्लाही, ३ असार । एक युवतीलाई खुकुरी देखाउँदै कुटपिट गरेको भाइरल भिडियोमा देखिएका युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-२ भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडामगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनलाई मंगलबार राति उनकै घरबाट पक्राउ गरिएको हो ।
घटनामा संलग्न रहेको आरोपमा अर्का २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त भिडियो रमेशकै घर नजिक गत चैत महिनामा रातिको समयमा खिचेर फेसबुकमा पोष्ट गरेको खुलेको छ ।
सो भिडियोमा रमेशले तुलसीपुरकै २१ वर्षीया एक युवतीलाई अश्लील शब्दसहित गालीगलौज गर्दै खुकुरीको उल्टोतिरको भागले प्रहार गरेको देखिन्छ । प्रहरीका अनुसार ती युवतीको स्वास्थ्य अवस्था सामान्य छ ।
पक्राउ परेका रमेशको साथबाट झण्डै ५० ट्याब्लेट लागुऔषधसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार प्रेगाम्याक्स, एक ट्याब्लेट, ट्रोमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोम ५ ट्याब्लेट बरामद भएको छ ।
