सर्लाही, १२ असार । सर्लाही सदरमुकाम मलंगवामा आज (शुक्रबार) लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समीक्षा तथा समापन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा पब्लिक माध्यमिक विद्यालय, मलंगवामा सम्पन्न कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, गैरसरकारी संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, पत्रकार, विद्यालयका विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण मुख्यालय, सर्लाहीका सशस्त्र प्रहरी कर्मचारीहरूले लागुऔषध दुरुपयोग र यसको दुष्प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।

समापन कार्यक्रममा पछिल्लो समय समाजमा लागुऔषधको सेवन तथा अवैध ओसारपसार गम्भीर सामाजिक चुनौतीका रूपमा देखापरिरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था, शैक्षिक क्षेत्र र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका विभिन्न जनचेतनामूलक गतिविधिको समीक्षा गर्दै सहभागीहरूले लागुऔषधविरुद्धको अभियानलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *