सर्लाही, १७ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने तयारी थालेको छ ।
सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले डिजिटल सरुवा प्रणाली विकासको काम अघि बढाएको हो ।
मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ । कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था रहनेछ ।
प्रणालीमा सरुवासम्बन्धी आवेदनका लागि फ्ल्यागिङ प्रणाली समेत रहनेछ । यसले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनको सहज पहिचान गर्न सहयोग गर्ने मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ प्रणाली मार्फत अनलाइनबाटै हेर्न सक्नेछन् । सरुवासम्बन्धी पत्रहरू पनि प्रणालीबाटै स्वचालित रूपमा तयार हुने व्यवस्था मिलाइनेछ ।
मन्त्रालयका अनुसार आवश्यक परे अन्य सम्बन्धित निकायका सूचना प्रणालीसँग एपीआईमार्फत सूचना आदान–प्रदान गर्न सकिने सुविधा पनि रहनेछ । साथै, सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा निर्णय भएको २४ घण्टाभित्र स्वतः सार्वजनिक हुने व्यवस्था गरिनेछ ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइएको बताइन् ।
उनले प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ घट्ने, पारदर्शिता अभिवृद्धि हुने तथा कर्मचारीले सहज, छिटो र विश्वासयोग्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।
