सर्लाही, १७ असार । गृह मन्त्रालयले बजार अनुगमन कमजोर रहेको निष्कर्षसहित तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

देशैभर सञ्चालित कतिपय होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासो बढेपछि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको हाे । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जबाफदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ ।

मन्त्रालयले कानूनी कारबाही र बजार अनुगमनलाई तीव्रता दिन आदेश दिएको हो । होटेल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्न, अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन, नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने वा प्रचलित कानूनको उल्लङ्घन गर्ने जुनसुकै पक्षलाई कानून बमोजिम हदैसम्मको कडा कारबाही गर्न निर्देशन भएको छ ।

जिल्लाको कार्यसम्पादनलाई मन्त्रालयले प्रत्यक्ष सुपरिवेक्षण गर्ने हुँदा कार्यसम्पादनमा कुनै पनि किसिमको असक्षमता वा उदासीनता प्रस्तुत नगर्न पनि सचेत गराएको हाे । मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटाद्वारा हस्ताक्षरित निर्देशन पत्रमा बजारमा विधिको शासन कायम गर्न स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्नेमा मन्त्रालय पूर्ण विश्वस्त रहेको उल्लेख गरिएकाे छ।

केही दिन अघि गृहमन्त्री सुधन गुरुङले चितवनको एक होटेलमा अम्लेट खाँदा माछाको काँडा भेटिएपछि तत्कालै होटेललाई जरिवाना समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *