सर्लाही, १७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी र केन्द्रीय सदस्यहरूको आज भएको शपथग्रहणमा तीनजना छुटेका छन् । ९९ सदस्यीय केन्द्रीय समितिमा ९६ जनाको मात्र शपथ भएको हो ।
रास्वपाको निर्वाचन आयोगले पूर्वप्रकाशित मत परिणाममा दुईवटा संशोधन गरेको थियो । गण्डकी प्रदेशबाट चौथो सर्वाधिक मत ल्याएर निर्वाचित भएका सोम शर्मालाई केन्द्रीय सदस्यको सूचीबाट हटाएर पूजा बास्तोलालाई ल्याइयो ।
यस्तै, जनजाति क्लस्टरमा विजयी घोषित गरिएका कृष्णमान श्रेष्ठको स्थानमा ध्रुव थापामगरलाई समावेश गरियो ।
केन्द्रीय सदस्यबाट हटाइएपछि सोम शर्मा र कृष्णमानले रास्वपाको निर्वाचन आयोगमा उजुरी दिएका छन् । उनीहरुको उजुरीमाथि कुनै निर्णय भइसकेको छैन ।
आज शर्मा शपथग्रहणअघि केन्द्रीय कार्यालय गएर छलफल गरेका थिए । छलफल टुंगोमा पुग्न नसकेपछि विवादित कसैको पनि शपथ नगराउने निर्णय भएको हो ।
सोम शर्मासँगै पूजा बास्तोला र उक्त प्रदेशबाट टप ५ मा नपरेर पनि केन्द्रीय बनाइएकी विष्णुकुमारी गुरुङको शपथ रोकिएको छ । यस्तै कृष्णमान र ध्रुव थापामगर दुवैको शपथ नभएको पार्टीका एक पदाधिकारीले जानकारी दिए ।
विवादको निरुपण नभएसम्मका लागि उनीहरु पाँचैजनाले पार्टीको केन्द्रीय सदस्यको हैसियत नपाउने भएका छन् ।
