सर्लाही, ३० असार । सभामुख डोलप्रसाद (डीपी) अर्यालले विपद्का बेला नागरिकको जीउधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनुभएको छ ।

उहाँले बाढी, पहिरो र डुबानबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यानाकर्षण गराउनुभयाे ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक तथा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरूले सुकुम्वासी समस्या समाधान, विपद् व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभावलगायतका विषय उठाएका हुन् ।

सांसद गणेशसिंह ठगुन्नाले सुकुम्वासीको समस्या तत्काल सम्बोधन गर्दै उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रमेशकुमार मल्लले केही दिनअघि आत्मदाह गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीबाट देखिएको व्यवहार दुःखद् भएको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताउनुभयो ।

सांसद आरेन राईले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गलत भएको टिप्पणी गर्दै श्रमिक, गरिब तथा सुकुम्वासीका हकहितका पक्षमा काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *