सर्लाही, ३० असार । सर्लाही प्रहरीले कटुवा पेस्तोल र गोलीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार असार २९ गते दिउँसो करिब १:४० बजे मलंगवा नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल जाने बाटोमा रहेको एक सैलुनमा कटुवा पेस्तोल लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा भारतको बिहार राज्य, सीतामढी जिल्ला, बाजपट्टी थाना–११ का स्थायी बासिन्दा तथा मलंगवा- मा सञ्चालन हुँदै आएको सैलुनका सञ्चालक २८ वर्षीय राजेश कुमारको सैलुनमा रहेको कुर्सीमाथि कालो प्लास्टिकको झोलाभित्र लुकाइराखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा भारतको बिहार राज्य, सीतामढी जिल्ला, सोनवर्षा गाउँपालिका–१४ निवासी २२ वर्षीय छन्नु कुमार तथा सो कार्यमा सहयोग गरेको आरोपमा मलंगवा–९ लालबन्दी बस्ने ३६ वर्षीय महमद अबुलेसलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले थप अनुसन्धान अघि बढाइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *