सर्लाही, ३२ असार । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले निस्किएपछि अहिले नेपाली कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को साथ मागेको छ।

कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो नेकपाका पूर्वमन्त्री मानबहादुर धामी र रमेश धामीसँग सत्ता सहकार्यको प्रस्ताव गरेका थिए । हिजो अस्वीकार गरेको नेकपासँग आज पनि मुख्यमन्त्री शाहले संवाद सुरु गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेट पारित गर्न मुख्यमन्त्री शाहले हिजै प्रस्ताव गरेका थिए। कांग्रेस नेतृत्व स्वीकार नगर्ने र यथास्थितिमा बजेट पनि पास गर्न नसकिने भएपछि हिजो कुनै छलफल भएको थिएन। अहिले फेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हिजैकै नेकपाका दुई सांसदसँग मुख्यमन्त्रीसहितका अन्य नेताहरू पनि छलफलमा जुटेका छन्।

कांग्रेसको तर्फबाट मुख्यमन्त्री शाहसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर रावल र पूर्व सामाजिक विकास मन्त्री मेघराज खड्का पनि छलफलमा बसेका छन्।

हिजोकै बटमलाइन आज पनि रहेको छ। ‘हामीले कांग्रेसले छलफल गर्न चाहेपछि किन संवादबाट भाग्ने भनेर छलफलमा जुटेका हौं,’ नेकपाका एक नेताले भने, ‘कांग्रेस नेतृत्व र बजेट स्वीकार गरेर अघि बढ्न सकिँदैन भन्ने हाम्रो धारणा हो।’

सकेसम्म तीनदलीय सरकार बनाउने, नयाँ बजेट ल्याउने र नेकपा सरकारको नेतृत्वको विषयमा सकारात्मक भएन भने छलफलले निकास दिने नेकपाको धारणा छ। त्यसबाहेक टसमस नहुने दाबी गरिएको छ।

आज राति १२ बजेसम्म सरकारले ल्याएको बजेटबारे निकास दिनुपर्ने बाध्यतामा मुख्यमन्त्री शाह छन्। यस्तो अवस्थामा विभिन्न विकल्पबारे उनले आन्तरिक छलफल गरिरहेका हुन्। नेकपाले आज पनि प्रस्ताव स्वीकार नगरे अध्यादेशबाट बजेट ल्याउने, वा बजेट शून्यतामा लैजाने, वा मार्ग प्रशस्त गर्ने तीन विकल्प मुख्यमन्त्रीसँग रहनेछन्।

कांग्रेससँगको संवादपछि नेकपाले संसदीय दलको बैठक समेत बोलाएको छ। ११ बजे संसदीय दलको बैठकले अहिलेको अवस्थाबारे जानकारी गराउँदै आगामी रणनीतिबारे पनि छलफल गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *