सर्लाही, ४ साउन । घरजग्गा कारोबारबाट गएको आर्थिक वर्ष २०८२/८३ को असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्षकै सबैभन्दा उच्च मासिक राजस्व हो ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो, जुन वर्षकै दोस्रो उच्च मासिक राजस्व हो ।
चैतमा ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ , जेठमा ५ अर्ब २४ करोड ४२ लाख रुपैयाँ, पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ, माघमा ५ अर्ब ९९ लाख रुपैयाँ , मङ्सिरमा ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ तथा फागुनमा ४ अर्ब १४ करोड ९५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
आर्थिक वर्षको सुरुआती महिनामा भने राजस्व अपेक्षाकृत कम थियो । साउनमा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ , भदौमा ३ अर्ब १४ करोड ७ लाख रुपैयाँ , असोजमा २ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ र कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
विभागका अनुसार साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमार्फत लागू हुने भएपछि कर वृद्धि हुनुअघि नै कारोबार गर्ने प्रवृत्ति बढेको थियो ।
त्यसकै प्रभावस्वरूप असार महिनामा घरजग्गा किनबेच उल्लेख्य रूपमा बढ्दा राजस्व सङ्कलन पनि उच्च भएको विभागको निष्कर्ष छ ।
