सर्लाही, ५ साउन । वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्यधिक रकम असुली तथा गैरकानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीडित श्रमिकलाई सहजरूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक पोर्टलको औपचारिक शुभारम्भ गर्दै अब पीडितहरूले काठमाण्डाै धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
यसअघि वैदेशिक रोजगारसम्बन्धी ठगीको उजुरी दिन पीडितहरू प्रमाणसहित विभागमै उपस्थित हुनुपर्ने व्यवस्था थियो । सीमित जनशक्ति र स्रोत–साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीडितले काठमाण्डाैमा बसोवास र अन्य खर्चसमेत व्यहोर्नुपर्ने अवस्था थियो ।
नयाँ प्रणालीमार्फत अब पीडितले आफ्नै मोबाइल वा कम्प्युटरबाट आवश्यक कागजात अपलोड गरी अनलाइनमार्फत उजुरी दर्ता गर्न सक्नेछन् । विभागले उजुरीको अध्ययनपछि दर्ता प्रक्रिया अघि बढाउनेछ ।
उजुरी दर्ता भएसँगै सेवाग्राहीले एसएमएस र इमेलमार्फत जानकारी प्राप्त गर्नेछन् भने उपलब्ध गराइने ट्र्याकिङ कोड प्रयोग गरी जुनसुकै बेला आफ्नो उजुरीको अवस्थाबारे जानकारी लिन सक्नेछन् ।
