सर्लाही, ८ साउन । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान भएको खुकुरी प्रहारको घटनामा एक महिलाको मृत्यु भएको छ । घटनामा संलग्न आरोपितलाई स्थानीयवासीले नियन्त्रणमा लिएर कुटपिट गरेपछि उनी पनि गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार बिहान करिब १० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०-४५ वर्षीया रेनुदेवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार गरिएको थियो । घाँटीमा गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका-८ इटहर बेलाही टोल स्थायी घर भई हाल गुजरा–५ हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले उक्त आक्रमण गरेका हुन् ।
घटनापछि आक्रोशित स्थानीयले उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुर लगिएको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तथा अन्य कानुनी प्रक्रिया अघि बढाएको छ ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका सबै पक्षबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
