सर्लाही, ९ साउन । नेपालमा एक वर्षको अवधिमा करिब ५ अर्ब रुपैयाँ बराबरको विदेशी मदिरा तथा मदिराजन्य कच्चा पदार्थ आयात भएको छ ।

भन्सार विभागको वार्षिक तथ्याङ्क अनुसार साउनदेखि असारसम्मको अवधिमा कुल ४ अर्ब ९९ करोड ३० लाख रुपैयाँ बराबरको ३० लाख २२ हजार लिटर मदिरा तथा कच्चा पदार्थ नेपाल भित्रिएको हो ।

कुल आयातमा तयारी विदेशी मदिराको हिस्सा ठुलो छ भने स्वदेशी मदिरा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ र इएनएको आयात पनि उल्लेख्य देखिएको छ ।

तथ्याङ्क अनुसार एक वर्षको अवधिमा १६ लाख ६६ हजार ३ सय ७९ लिटर विदेशी तयारी मदिरा आयात भएको छ । जसको कुल भन्सार मूल्य ३ अर्ब ४५ करोड २९ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

तयारी मदिरामध्ये नेपाली बजारमा सबैभन्दा बढी दबदबा ’विस्की’ को देखिएको छ । समीक्षा अवधिमा १० लाख २६ हजार ७ सय ५ लिटर विस्की आयात हुँदा २ अर्ब ८ करोड ८१ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

यस्तै, वाइन तथा स्पार्कलिंग वाइन ७० करोड ३० लाख रुपैयाँ (३ लाख ५७ हजार ६ सय ९१ लिटर) र भोड्का २१ करोड ५९ लाख रुपैयाँ (६९ हजार ८ सय लिटर) बराबरको आयात भएको छ ।

त्यसैगरी, २४ करोड ८८ लाख रुपैयाँ बराबरको लिक्युर तथा अन्य पेय मदिरा, १० करोड ५७ लाख रुपैयाँको बियर, ७ करोड ४५ लाख रुपैयाँको जिन र ५५ लाख ५२ हजार रुपैयाँ बराबरको रम नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

स्वदेशी मदिरा उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ , इएनए तथा इथाइल अल्कोहलको आयात पनि ठुलो परिमाणमा भएको छ ।सो अवधिमा १३ लाख ५५ हजार ८ सय ८७ लिटर मदिराजन्य कच्चा पदार्थ आयात भएको छ, जसको कुल भन्सार मूल्य १ अर्ब ५४ करोड १ लाख १३ हजार रुपैयाँ छ ।

जसमा ’र मेटेरियल’ शीर्षकमा मात्रै १ अर्ब १३ करोड ७६ लाख रुपैयाँ (९ लाख ३५ हजार लिटर) बाहिरिएको छ भने मदिरा बनाउन प्रयोग हुने इएनए आयातमा ३६ करोड ४९ लाख रुपैयाँ (३ लाख ८० हजार लिटर) खर्च भएको छ । बाँकी ३ करोड ७५ लाख रुपैयाँ बराबरको अन्य इथाइल अल्कोहल आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *