सर्लाही, १३ साउन । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको २७औँ बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
स्वीकृत बजेटमध्ये नेपाल सरकारबाट ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ व्यवस्थापन गरिनेछ ।
आन्तरिक स्रोतअन्तर्गत चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगततर्फ ८ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको आयोगले जनाएको छ ।
बैठकले आयोगको बचत तथा आगामी आन्तरिक आम्दानीबाट चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट खर्च गर्ने निर्णयसमेत गरेको छ ।
बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता लगायत आयोगका विशिष्ट पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
आयोगले स्वीकृत बजेट तथा कार्यक्रममार्फत चिकित्सा शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, नियमन तथा पूर्वाधार विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।
