काठमाण्डाैं, १८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ ।

आगलागीपछि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको र कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् ।

समस्तीपुर–सहरसा यात्रुवाहक रेल (नम्बर ६३३४४) को इन्जिनमा सिमरी बख्तियारपुर रेल स्टेशनमा बिहान करिब ३ः४० बजे आगलागी भएको हो ।

सहरसा अग्नि नियन्त्रण कार्यालयका सहायक अग्नि अधिकृत निरञ्जन कुमारका अनुसार रेलको इन्जिनमा आगो लागेको सूचना प्राप्त हुनासाथ फोम टेन्डर र पानी टेन्डरसहितको टोली घटनास्थल पठाइएको थियो ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । ‘रेल इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि तत्काल उद्धार टोली परिचालन गरिएको थियो। आगो नियन्त्रणमा आइसकेको छ र हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन,‘ उनले भने ।

घटनाका एक यात्रुले बिहान करिब ३ः४० बजे रेलमा आगलागी भएको र त्यसका कारण यात्रुहरूले ठूलो सास्ती व्यहोर्नुपरेको बताए । आगलागीपछि यात्रुहरू अलपत्र परेका छन् भने रेल सेवासमेत प्रभावित भएको छ ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन । घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको जनाएको छ । यसअघि गत मे महिनामा पनि बिहारको मधुबनी रेलवे स्टेशनमा उभिएको जयनगर-उधना अन्त्योदय एक्सप्रेसका खाली डब्बाहरूमा आगलागी भएको थियो। प्लेटफर्ममा शन्टिङ भइरहेको बेला लागेको आगोले एक डब्बा पूर्ण रूपमा जलेर नष्ट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *