सर्लाही, ३१ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा विद्युतीय पानी तान्ने मोटर चोरी गर्ने गिरोहका दुई जना पक्राउ परेका छन् । 

किसानले धान खेतमा सिचाईं गर्न जडान गरेको कृषि मोटर चोरीमा संलग्न चन्द्रनगर गाउँपालिका–६, कामदका २० वर्षीय शिवदयाल मुखिया र १९ वर्षीय सजिवन मुखिया पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट चोरी भएको तीन थान मोटरसमेत बरामद गरेको छ । 

साउन २६ गते चन्द्रनगर गाउँपालिका–४, पोखरिया चौरमा जडान गरिएको एक थान मोटर र चन्द्रनगर गाउँपालिका–६, कामदमा जडान गरिएको दुई थान मोटर चोरी भएको थियो ।

सोही मोटर चोरीमा संलग्न मानिसको खोजी गर्नेक्रममा प्रहरीले शिवदयाल र सजिवनलाई पक्राउ गरेको हो । 

दुवै जनालाई चोरीसम्वन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय केशरगञ्जले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

सर्लाहीसहित मधेश प्रदेशमा अहिले कृषि मोटर र ट्रान्सफर्मर चोरीका घटनाले किसान र प्रहरी हैरान भइरहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *