सर्लाही, १४ भदाै । सर्लाहीमा प्रहरीले बिलबिजकबिनाको करिब १३ लाख ५५ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ । प्रहरीका अनुसार बागमती नगरपालिका-१२ स्थित कर्मैया चेकपोस्टमा खटिएको प्रहरी टोलीले भारतबाट सर्लाहीको मलंगवा आउँदै गरेको भारतीय नम्बर प्लेटको कारबाट उक्त मदिरा बरामद गरेको हो ।
प्रहरीले बाारा जिल्लाबाट सर्लाहीतर्फ आउँदै गरेको DL 2CAP 0418 नम्बरको भारतीय कार रोकी जाँच गर्ने क्रममा कारको पछाडिको सिटमुनि र अगाडि फल्स बटन बनाई लुकाइछिपाई राखिएको बिलबिजक नभएको मदिरा फेला पारेको जनाएको छ ।
बरामद मदिरासहित प्रहरीले कार चालक भारत, सीतामढी जिल्ला हरैया पञ्चायत वडा नं. ३ बस्ने इन्द्रजित सिंहका छोरा ३३ वर्षीय दीपक कुमार, सोही गाडीमा सवार भारत, हतिया पञ्चायत वडा नं. ८ बस्ने ३६ वर्षीय अल्बु यादव, भारत, लैरीया पञ्चायत वडा नं. ६ बस्ने ३० वर्षीय कृष्ण भगत र वडा नं. ४ बस्ने २० वर्षीय आलोक कुमारलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार उनीहरूको साथबाट रेड लेबल ५० बोतल, रोयल स्ट्याग २४ बोतल, म्याकडोवेल्स गोल्ड ३५ बोतल र म्याकडोवेल्स सानो ३२ बोतल बरामद भएको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरू, भारतीय कार र बरामद मदिरालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले आफ्नो नियन्त्रणमा राखेको जनाएको छ ।

