सर्लाही, २९ असोज । नेपालको वित्तीय कारोबारमा अग्रणी मानिने हिमालयन बैंक लिमिटेडको आन्तरिक स्थिति निराशाजक हुँदा लगानीकर्तादेखि कर्मचारीसम्म हतोत्साहित छन् । यसले नेपाल राष्ट्र बैंकद्वारा स्वीकृत विनियमावलीसमेत पालना गरेको छैन ।
नेपाल सरकारको मुख्यसचिवबाट अवकाशप्राप्त डा. बैकुण्ठप्रसाद अर्याल बैंकको अध्यक्ष नियुक्त भएका छन् । त्यत्तिको व्यक्तित्व संस्थाको प्रमुख जिम्मेवारीमा गएपछि स्थितिमा सुधार होला भन्ने लगानीकर्ता र कर्मचारीको आशा निराशामा परिणत भएको छ ।
यस वर्षको दशैँअघि वितरण गरिएको तलबमा पेश्की वा मुनाफा (बोनस) दिएइको छैन । न त शेयर लगानीकर्ताले लाभांश नै पाएका छन् । उक्त बैंकसँग २०७९ फागुनमा सिभिल बैंक गाभिएपछि आन्तरिक स्थिति सुदृढ हुने लगानीकर्ता र कर्मचारीको आशाविपरीत उनीहरुले त्यही बेलादेखि बोनस र लाभांश पाउन छाडेका हुन् ।
उक्त बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड रूपैयाँ र प्रतिशेयर ६.५६ प्रतिशत नाफा आर्जन गरेको थियो । चालू आर्थिक वर्षअन्तर्गत साउनपछिको पहिलो दुई महिना (भदौसम्म) मा ५७ करोड ५१ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५५.१३ प्रतिशतले बढी हो ।
तर, वितरणयोग्य मुनाफा ९ अर्ब ८४ करोड ऋणात्मक देखाउँदै लाभांश वितरण रोकिएको बैंक स्रोत बताउँछ । उक्त ऋणात्मक स्थिति विश्वसनीय नभएको स्रोतको दाबी छ । कर्जा नोक्सानी व्यवस्थामा उच्च रकम छुट्याउनुपर्ने कारण लाभांश र बोनस वितरणमा समस्या भएको बैंक व्यवस्थापन स्रोतको भनाइ छ । उक्त बैंकको खराब कर्जा ७ प्रतिशत देखाइएको छ ।
सो बैंकले विगतमा शेयर लगानीकर्तालाई ३५ प्रतिशतसम्म लाभांश दिएको इतिहास छ ।
जागिर सकियो, सुविधा जारी
नेपाल राष्ट्र बैंकद्वारा स्वीकृत कर्मचारी विनियमावलीबमोजिम सेवा अवधि पूरा गरी अवकाश भएका डेपुटी सिईओ उज्ज्वल राजभण्डारी अवकाशपछि पनि कार्यालय गइरहेका छन् । सेवामा रहँदाका सम्पूर्ण सुविधा पनि उपभोग गरिरहेका छन् । जबकी, उनीसँगै अवकाश भएका अर्का डेपुटी सीईओ अनुप मास्के फर्किएर कार्यालय गएका छैनन् । राजभण्डारी अवकाश भएपछि उनको ठाउँमा अर्का डेपुटी सिईओ सुनीलप्रसाद गोर्खाली पदस्थापित भइसकेका छन् । उनले सूचना अधिकारीसमेतको जिम्मेवारी बहन गरिरहेका छन् ।
सेवा अवधि पूरा भएपछि नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिएर करार अवधि थप हुने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार कतिपय कर्मचारी अवकासपछि पनि बैंकका विभिन्न जिम्मेवारीमा कार्यरत छन् । डेपुटी सीईओ राजभण्डारीको अवधि थप गर्ने करार सम्झौता राष्ट्र बैंकले अहिलेसम्म होल्ड गरिदिएको छ । त्यस्तो अवस्थामा कार्यालय जानु र सेवा, सुविधा उपभोग गर्नुलाई गुप्त स्वार्थ (हिडन इन्ट्रेस्ट) का रूपमा बुझिन्छ ।
बैंक स्रोतका अनुसार उच्च व्यवस्थापनलाई प्रभावमा पारेर राजभण्डारी अवकाशपछि पनि अटेर गर्दै अफिस गइरहेका हुन् । उनको ध्यान सीईओ हुनेमा केन्द्रित छ । अहिले बैंकका सीईओ अशोकसमशेर राणा हुन् । उनी केही समयका लागि देशबाहिर छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले राष्ट्र बैंकद्वारा स्वीकृत कर्मचारी विनियमावलीविपरीत अवकाशप्राप्त कुनै पनि कर्मचारीले सेवा सुविधा उपभोग गर्न नपाउने बताए ।
‘कुन बैंक र कुन व्यक्ति भन्नेतिर नजाऔँ, हामीले स्वीकृत गर्ने गरेको कुनै पनि बैंकको विनियमावलीमा कर्मचारीले अवकाशपछि पनि कार्यालय जाने, सेवा-सुविधा उपभोग गर्ने कुरा मिल्दैन’, उनले भने, ‘यदि अवकाश पाएको कर्मचारी उक्त संस्थाका लागि आवश्यक छ भने करार सम्झौता गरेर काममा लगाउन पाइन्छ, त्यसका लागि राष्ट्र बैंकसँग कुनै किसिमको स्वीकृति लिनु पर्दैन ।
तर, बिनासम्झौता अवकाशपछि पनि कार्यालय जाने, सेवा-सुविधा उपभोग गर्ने कुरा गैरकानुनी हुने उनले बताए ।
यस विषयमा जिज्ञासा राख्न हिमालयन बैंकका सूचना अधिकारी तथा डेपुटी सीईओ सुनीलप्रसाद गोर्खालीलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
