सर्लाही, १४ भदाै । भीषण लेदोसहितको बाढी र पहिरोका कारण चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएका छन् । तिब्बततर्फ मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, बेपत्ता हुने विदेशीहरूमा सबैभन्दा बढी १०४ जना नेपाली नागरिक छन् ।

यसैगरी ४९ भारतीय, ३३ लाटभियन, १८ अमेरिकी र १५ बेलायती नागरिक पनि बेपत्ता छन् । बेइजिङस्थित अधिकारीहरूले यसबारे सम्बन्धित देशका कूटनीतिक नियोगहरूलाई जानकारी गराइसकेको बताइएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार यो विपत्ति जलवायु परिवर्तनका कारण हिमनदीमा आएको अस्थिरताले निम्त्याएको हो। चिनियाँ वैज्ञानिकहरूका अनुसार नेपालतर्फबाट आएको लेदोसहितको बाढी गिरोङ सीमा नाकासम्म आइपुग्न मात्र ६ देखि ७ मिनेट लागेको थियो ।

रोयटर्सका अनुसार चीनले उद्धारका लागि २१ सयभन्दा बढी आपत्कालीन उद्धारकर्मी परिचालन गरेको छ र २२० मिलियन युआन (करिब ३ करोड २७ लाख डलर) राहत प्याकेज घोषणा गरेको छ ।

यसका साथै चीनले नेपाललाई आपत्कालीन नगद सहायता, राहत सामग्री, भू-उपग्रह र जलविज्ञान सम्बन्धी तथ्याङ्कका साथै टनेल उद्धार विशेषज्ञहरू पनि पठाएको छ ।

रेडक्रसको अनुमान अनुसार यस प्राकृतिक विपत्तिबाट ९०,००० भन्दा बढी मानिस प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *