चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार

Byसदाम हुसैन

२०८३ भाद्र २५, बिहीवार २०८३ भाद्र २५, बिहीवार २०८३ भाद्र २५, बिहीवार

सर्लाही, २५ भदाै । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ ।

नेपाल–चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनिहरुलाई स्वदेश फर्काइएको सशस्त्र प्रहरी बलले जनाएको छ । व्यापार व्यवसाय, भ्रमण, पर्यटनलगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण उतै रोकिएका थिए ।

चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाण्डौ पठाइएको हो ।

स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई भदौ १८ गतेदेखि भोटेकोशी गाउँपालिका–२ तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको हो ।

सशस्त्र प्रहरीका अनुसार भदौ १८ गते ११४ जना, भदौ १९ गते १५५ जना, भदौ २० गते ९६ जना, भदौ २१ गते १०५ जना, भदौ २२ गते १०६ जना र भदौ २३ गते ९४ नेपाली स्वदेश फर्किएका हुन् ।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *