सर्लाही, २५ भदाै । रसुवा बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकायको संयुक्त टोलीले खोज, उद्धार, राहत वितरण र स्वास्थ्य सेवा प्रवाहको कार्यलाई तीव्रता दिइरहेको नेपाली सेनाले जनाएको छ ।
रसुवा–नुवाकोट क्षेत्रमा रहेका हाइड्रोपावर र त्यसका सुरुङहरूमा खोजी कार्य अझै जारी रहेको पनि सेनाले जानकारी गराएको छ ।
सेनाका अनुसार जलविद्युत आयोजनाहरूमा सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार गर्न विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ ।
रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङभित्र करिब ५० मिटरसम्म पुगेको नेपाली सेनाको खोज तथा उद्धार टोलीले एक शव फेला पारेको छ भने थप खोजी जारी छ ।
चिलिमे हाइड्रोपावरमा विदेशीसहितको संयुक्त टोली सुरुङको १४० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ। ‘अभाटा ड्रोन’मार्फत ४० मिटरसम्म खोजी गरिए पनि हालसम्म केही फेला परेको छैन ।
सुरुङसम्म हेभी इक्युपमेन्ट लैजान पहुँचमार्ग निर्माणका लागि २५ मिटर चट्टानी भूभाग ब्लास्टिङ गरी हटाउनुपर्नेमा अब ५० मिटर मात्र बाटो निर्माण गर्न बाँकी रहेको सेनाको भनाइ छ ।
माथिल्लो त्रिशूली–१ मा हाकुबेशीस्थित अडिट ३ सुरुङमा विदेशीसहितको संयुक्त टोली करिब १ हजार २०० मिटरभित्र प्रवेश गरेर खोजी कार्य चलाएको छ ।
त्रिशूली–३ ‘बी’ मा संयुक्त टोलीले ३ वटा एक्साभेटरको प्रयोग गरी ११ मिटर गहिराइमा उत्खनन् गर्ने क्रममा करिब ४ फिटको पिलर तथा केही इँटाहरू फेला पारेको छ ।
यसबाहेक रसुवागढी र लाङटाङ जलविद्युत आयोजना तथा त्रिशूली–३ ‘ए’मा पनि पावरहाउस र सुरुङभित्र पानीको बहाव घटाउन च्यानल निर्माण गर्दै संयुक्त टोलीद्वारा खोजी कार्यलाई निरन्तरता दिइएको छ ।
