सर्लाही, २५ भदाै । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ । पश्चिम एसियामा बढ्दो सैन्य द्वन्द्व र इन्धन आपूर्तिमा देखिएको अवरोधले कच्चा तेलको मूल्य बुधबार जुलाईयताकै पहिलोपटक प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ ।
डेनमार्कस्थित साक्सो बैंकका कमोडिटी रणनीति प्रमुख ओले ह्यान्सेनले ब्रेन्ट क्रुडको मूल्य १०० डलर नाघ्नुले मध्यपूर्वको संकटले इन्धन आपूर्तिमा कति लामो समयसम्म असर पार्न सक्छ भन्नेबारे बजारको धारणा परिवर्तन भएको संकेत गर्ने बताए । उनका अनुसार पछिल्लो मूल्य वृद्धिले आपूर्ति अवरोधको अवधि र प्रभावबारे बजारमा बढ्दो चिन्ता देखाएको छ ।
यद्यपि, कच्चा तेलको वर्तमान मूल्य गत अप्रिलमा पुगेको प्रतिब्यारेल १२६ अमेरिकी डलरको उच्च बिन्दुभन्दा अझै तल छ । तर, विश्लेषकहरूका अनुसार युद्धका कारण आपूर्ति शृंखलामा थप अवरोध आएमा विश्वव्यापी तेल बजारसँग त्यसलाई सम्हाल्ने क्षमता निकै सीमित हुन सक्छ । यस्तो अवस्थामा आपूर्ति र मागबीचको असन्तुलनले तेलको मूल्यमा थप तीव्र वृद्धि गराउन सक्ने जोखिम रहेको छ ।
तेलको मूल्य वृद्धिमा पश्चिम एसियामा भएका पछिल्ला सैन्य गतिविधि र रणनीतिक जलमार्गमा बढेको जोखिम प्रमुख कारण बनेका छन् ।
इरानसमर्थित हूती विद्रोहीहरूले साउदी अरबका ऊर्जा संरचनामा आक्रमण गरेपछि लालसागर हुँदै हुने तेल ढुवानी थप जोखिममा परेको छ । लाल सागरलाई स्ट्रेट अफ होर्मुजमा हुने सम्भावित अवरोधको अवस्थामा प्रमुख वैकल्पिक जलमार्गका रूपमा हेरिन्छ ।
पश्चिम एसियामा संकट सुरु भएपछि विश्वव्यापी तेल आपूर्तिमा दबाब बढेसँगै विभिन्न मुलुकले आफ्ना आपत्कालीन तेल भण्डार प्रयोग गरिरहेका छन् ।
अमेरिकाको रणनीतिक पेट्रोलियम रिजर्भ घटेर २८९.७ मिलियन ब्यारेलमा झरेको छ, जुन सन् १९८२ यताकै न्यून स्तर हो । डीडब्ल्यू
