एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ

Byसदाम हुसैन

२०८३ भाद्र २५, बिहीवार २०८३ भाद्र २५, बिहीवार २०८३ भाद्र २५, बिहीवार

सर्लाही, २५ भदाै । स्मार्टफोन बजारमा बहुप्रतिक्षित एप्पलको आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ ।

सेप्टेम्बर ९ मा आयोजित वार्षिक फल इभेन्टमार्फत कम्पनीले यो नयाँ डिभाइस सार्वजनिक गरेको हो । एप्पलको नयाँ प्रमुख कार्यकारी अधिकृत बनेका जोन टर्नसको नेतृत्वमा सार्वजनिक भएको यो पहिलो प्रमुख उत्पादन हो ।

कम्पनीका सीईओ जोन टर्नसले आईफोन डुओलाई मुख्य आईफोनपछिकै सबैभन्दा ठूलो रूपान्तरणका रूपमा वर्णन गरेका छन् ।

बजारमा सामसङले सन् २०१९ मा नै फोल्डेबल फोन ल्याइसकेको थियो भने हाल गुगल, मोटोरोला, ओप्पो र हुवावेजस्ता कम्पनीका विभिन्न फोल्ड र फ्लिप फोनहरू उपलब्ध छन् ।

एप्पल प्रायः नयाँ बजारमा आउनासाथ हतार नगरी प्रविधि परिपक्व भएपछि मात्र प्रवेश गर्ने रणनीति अपनाउँछ । जस्तै: सन् २००१ मा आईपोड, २००७ मा आईफोन र २०१५ मा एप्पल वाचका बेला पनि यस्तै देखिएको थियो ।

नर्थइस्टर्न युनिभर्सिटीका प्रोफेसर टकर म्यारियनका अनुसार फोल्डेबल बजार परिपक्व भइसकेकाले एप्पलले आफ्ना प्रयोगकर्ताहरूलाई एन्ड्रोइडतर्फ जान नदिन यो कदम चालेको हो ।

यद्यपि काउन्टरपोइन्टको तथ्याङ्कअनुसार फोल्डेबल फोनको बजार हिस्सा हाल २ प्रतिशत मात्र छ भने सीएनईटीको २०२५ को सर्भेअनुसार महँगो मूल्य र स्थायित्वको प्रश्न यसका मुख्य चुनौती हुन् ।

साथै, सन् २०२४ मा सार्वजनिक भएको ३ हजार ६९९ डलरको एप्पल भिजन प्रोको सुस्त बिक्रीपछि नयाँ सीईओको नेतृत्वमा आएको यस फोनको सफलतालाई निकै चासोका साथ हेरिएको छ।

आईफोन डुओका विशेषताहरूः

१. दुईवटा डिस्प्ले र नयाँ डिजाइन

आईफोन डुओको मुख्य विशेषता यसलाई किताबजस्तै फोल्ड गर्न र खोल्न सकिनु हो।

·         आउटर डिस्प्ले : बन्द हुँदा यसमा ५.४ इन्चको सुपर रेटिना एक्सडीआर ‍डिस्प्ले छ। जुन आकारमा पासपोर्टजस्तै छ र एक हातले चलाउन सहज छ। यसले आईफोन १८ प्रोको ९० प्रतिशत स्क्रिन एरिया प्रदान गर्छ।

·         इनर डिस्प्ले : खोल्दा ७.६ इन्चको सुपर रेटिना एक्सडीआर डिस्प्ले प्राप्त हुन्छ। जुन आईफोन १८ प्रो म्याक्सभन्दा ५० प्रतिशत ठूलो छ। यो अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन पनि हो।

·         विशेष फिनिसिङ र प्रविधि : भित्री स्क्रिनमा विशेष न्यानो–टेक्सचर म्याट फिनिस छ। जसले प्रकाशको टलक (ग्लियर) कम गर्छ र स्क्रिन मोडिएको दाग (क्रिज) लाई न्यूनतम बनाउँछ। दुवै स्क्रिनमा समान आस्पेक्ट रेसियो, प्रोमोसन, अलवेज अन र ३ हजार निट्सको पिक आउटडोर ब्राइटनेस रहेको छ।

·         एप्पल पेन्सिल : यसै वर्षको अन्त्यतिर युएसबी–सी सपोर्ट गर्ने एप्पल पेन्सिलमार्फत दुवै स्क्रिनमा नोट लेख्न, स्केच गर्न वा डकुमेन्ट मार्कअप गर्न सकिनेछ।

२. स्थायित्व र हार्डवेयर संरचना (ड्युरेबिलिटी)

एप्पलले यसको बनावट र स्थायित्वमा विशेष ध्यान दिएको छ :

·         सामग्री : यसको फ्रेम मिरर–पोलिस्ड ग्रेड ५ टाइटेनियमबाट बनेको छ भने हिन्ज कभर थ्रीडी–प्रिन्टेड छ। पछाडि सेरामिक सिल्ड र अगाडि ३ गुणा बढी स्क्र्याच–रेसिस्टेन्ट सेरामिक सिल्ड २ प्रयोग गरिएको छ।

·         प्रिसिजन हिन्ज र आईपी ६८ : १०० भन्दा बढी पार्टपुर्जाबाट निर्मित हिन्जले स्क्रिनलाई समतल राख्छ र बन्द गर्दा म्याग्नेटको मद्दतले बलियोसँग अड्याउँछ। यो फोन आईपी ६८ वाटर, डस्ट एन्ड स्प्लास–रेसिस्टेन्ट छ।

·         भित्री स्क्रिन सुरक्षा : उद्योगको तुलनामा ४० प्रतिशत बढी कडा कस्टम पोलिमर, स्क्र्याच–रेसिस्टेन्ट कोटिङ र मल्टिलेयर ल्यामिनेसन प्रविधि छ। किताबका पानाजस्तै सर्न सक्ने कस्टम एड्हेसिभ र तल्लो भागमा टाइटेनियम प्लेट राखिएकाले स्क्रिन बिग्रिन पाउँदैन।

३. पर्फर्मेन्स, हिट म्यानेजमेन्ट र ब्याट्री

·         ए२० प्रो चिप : २–न्यानोमिटर प्रविधिमा बनेको ए२० प्रो चिपसेटमा ६–कोर सीपीयु (२० प्रतिशत छिटो), ७–कोर जीपीयु (४० प्रतिशत छिटो) र २ गुणा बढी क्षमताको डुअल १६–कोर न्युरल इन्जिन छ। यसले ए१९ प्रोभन्दा ५० प्रतिशत बढी युनिफाइड मेमोरी ब्यान्डविथ दिन्छ।

·         थर्मल म्यानेजमेन्ट : एम–सिरिज चिपबाट प्रेरित प्याकेजिङले ए२० प्रोलाई सिधै कस्टम भेपर च्याम्बरसँग जोड्छ, जसले गर्दा आईफोन १७ प्रोभन्दा ३५ प्रतिशत बढी सस्टेन्ड पर्फर्मेन्स मिल्छ।

·         डुअल ब्याट्री संरचना : फोनको दुवैतर्फ छुट्टाछुट्टै उच्च–ऊर्जा ब्याट्री राखिएका छन्। भित्री स्क्रिन प्रयोग गर्दा ३१ घण्टा, बाहिरी प्रयोग गर्दा ४४ घण्टा र दुवै बराबर प्रयोग गर्दा २४ घण्टासम्मको ब्याट्री लाइफ मिल्छ।

·         यसले २० मिनेटमा ५० प्रतिशत फास्ट चार्जिङ र म्यागसेफ वा क्युआई२ बाट ३० मिनेटमा ५० प्रतिशत वायरलेस चार्जिङ सपोर्ट गर्छ।

४. उन्नत क्यामेरा प्रणाली र नयाँ अनुभवहरू

·         मेन क्यामेरा : ४८ एमपी फ्युजन मेन क्यामेरा (जसमा २एक्स टेलिफोटो एकीकृत छ, जिरो सटर ल्याग, २४ एमपी डिफल्ट सुटिङ र सेन्सर–सिफ्ट ओआईएस छ) र ४८ एमपी फ्युजन अल्ट्रा वाइड क्यामेरा (म्याक्रो फोटोग्राफीसहित) रहेका छन्।

·         भिडियो : ४के १२० एफपीएस डल्बी भिजन स्लो–मोसन, ६० एफपीएससम्म सिनेमाटिक इफेक्ट्स, सुधारिएको अडियो मिक्स र ट्राइपडविना नै ४के एचडीआर टाइम–ल्याप्स सुटिङ गर्न सकिन्छ।

फोल्डिङ क्यामेरा फिचरहरू :

·         अन्डर–डिस्प्ले फेसटाइम क्यामेरा : भित्री स्क्रिनको मुनि लुकेको फेसटाइम क्यामेरा।

·         सेन्टर स्टेज : कुनै पनि ओरिएन्टेसनमा आफैं फोटो/भिडियो मिलाउने अगाडिको क्यामेरा।

·         स्मार्ट टेक : एआईले मानिसहरूले पोज दिनेबित्तिकै आफैं फोटो खिच्ने प्रविधि।

·         डुओ प्रिभ्यु : बाहिरी स्क्रिनमा लाइभ प्रिभ्यु हेरेर रियर क्यामेराबाट सेल्फी लिन वा अगाडिको व्यक्तिलाई फ्रेम देखाउन सकिने।

·         किड क्यु : बाहिरी स्क्रिनमा ‘पिनट्स’ एनिमेसन बजाएर साना बालबालिकाको ध्यान खिच्ने।

·         डुओ फेसटाइम र डुअल क्याप्चर : बाहिरी स्क्रिन प्रयोग गरी अरूलाई पनि भिडियो कलमा जोड्न सकिने र अगाडि/पछाडिका दुवै क्यामेरा एकैसाथ सेयर गर्न सकिने।

५. आईओएस २७, सिरी एआई र सुरक्षा फिचरहरू

·         आईओएस २७ र स्प्लिट भ्यु : कन्टेन्टका लागि ठाउँ बचाउन लक स्क्रिन र डक कन्ट्रोलहरू साइडमा सारिएका छन्। पहिलोपटक आईफोनमा दुईवटा एप्स वा एउटै एपका दुई विन्डो एकसाथ चलाउन सकिने स्प्लिट भ्यु मल्टिटास्किङ सुविधा छ।

·         सिरी एआई र एप्पल इन्टेलिजेन्स : प्रयोगकर्ताको व्यक्तिगत सन्दर्भ बुझेर इमेल, म्यासेज र फोटोबाट जानकारी खोज्न सक्ने नयाँ सिरी एआई ल्याइएको छ। यसमा अनस्क्रिन अवेयरनेस, नयाँ सिरी एप, स्पेसियल रिफ्रेमिङ, एक्स्टेन्ड, क्लिन अप, इमेज प्लेग्राउन्ड र सिन्थआईडी सपोर्ट छ।

·         सफारीमा ‘नोटिफाइ मी’ फिचरले मूल्य घटबढ वा स्टक ट्र्याक गर्छ। प्राइभेसीका लागि अन–डिभाइस प्रोसेसिङ र प्राइभेट क्लाउड कम्प्युट प्रयोग गरिएको छ।

·         स्ट्यान्डबाइ र डाइनामिक आइल्यान्ड : चार्जमा नहुँदा पनि स्ट्यान्डबाइ मोड चल्छ, जसमा क्यालेन्डर, वेदर र सेयर गरिएका फोटो एल्बमहरू राख्न सकिन्छ। डाइनामिक आइल्यान्डलाई साइडमा भर्टिकल बनाइएको छ।

·         अन्य बटन र कनेक्टिभिटी : साइड बटनमा टच आईडी, एप्पल वाचबाट अनलक गर्ने सुविधा र सिरी क्यामेरा मोडसहितको क्यामेरा कन्ट्रोल बटन छ। यसमा विश्वभर नै ई–सिम–ओन्ली डिजाइन छ (जसमा आईफोन ह्यान्डअफ फिचर छ)। वाई–फाई ७, ब्लुटुथ ६ र थ्रेडका लागि एन१ चिप र एमएमवेभ सपोर्ट गर्ने सी२ सेलुलर मोडेल राखिएको छ। साथै स्याटेलाइट फिचरहरू पनि उपलब्ध छन्।

६. एक्सेसरिज र वातावरण

·         सामग्रीहरू : किकस्ट्यान्डसहितको आईफोन डुओ फोलियो (टोप र नेभी ब्लु रङमा— १२९ डलर) र थिन केस (स्यान्ड र नेभी ब्लु रङमा— ७९ डलर) उपलब्ध हुनेछन्।

·         वातावरण : सन् २०३० सम्म कार्बन न्युट्रल बन्ने लक्ष्यअनुसार यसमा ३५ प्रतिशत रिसाइकल गरिएका सामग्री (ब्याट्रीमा १०० प्रतिशत रिसाइकल कोबाल्ट र हिन्जमा १०० प्रतिशत रिसाइकल टाइटेनियम) प्रयोग गरिएको छ। ६० प्रतिशत नवीकरणीय ऊर्जाबाट उत्पादन गरिएको यसको प्याकेजिङ १०० प्रतिशत फाइबरमा आधारित छ।

७. मूल्य, भण्डारण र उपलब्धता

·         मूल्य र स्टोरेज : १२८ जीबीबाहेक २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी स्टोरेज क्षमतामा उपलब्ध हुने यो फोनको सुरुवाती मूल्य १ हजार ९९९ डलर (वा २४ महिनाका लागि ८३.२९ डलर/महिना) तोकिएको छ। ‘क्लार्ना’ मार्फत एप्पल अपग्रेड लिजिङ प्रोग्राममा ५७.९९ डलर/महिनाबाट सुरु हुन्छ।

·         उपलब्धता : अक्टोबर १६ देखि ७० भन्दा बढी देशहरूमा प्रि–अर्डर सुरु भई अक्टोबर २३ देखि बिक्री सुरु हुनेछ। बाँकी २८ देशहरूमा अक्टोबर ३० देखि उपलब्ध हुनेछ।

·         सफ्टवेयर र अफरहरू : फोन आईओएस २७.१ सँगै आउनेछ। एप्पल इन्टेलिजेन्स र सिरी एआई सेप्टेम्बर १४ देखि सुरु हुनेछन् (सिरी एआई अङ्ग्रेजीमा सुरु भई अक्टोबरमा फ्रान्सेली, जापानी, कोरियन, पोर्चुगिज र स्पेनिसमा आउनेछ)। नयाँ खरिदकर्ताहरूले ३ महिनाका लागि एप्पल वन (जसमा एप्पल टीभी प्लस, म्युजिक, आईक्लाउड प्लस आदि समावेश छन्) निःशुल्क पाउनेछन्। साथै दुर्घटना, चोरी र अन्य क्षति कभर गर्ने एप्पलकेयर प्लस, एप्पलकेयर वन र एप्पलकेयर वन फ्यामिली प्लानहरू पनि उपलब्ध छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *