सर्लाही, २६ भदाै । उपभोक्ताबाट अस्वाभाविक बढी मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने दुई व्यवसायीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ लाख रुपैयाँ जरिवाना गरेको छ ।
बजारमा ग्यासको कालोबजारी र अनियमितता बढेको सूचनाका आधारमा खटिएको विभागको टोलीले एक ग्यास विक्रेता र अर्को ग्यास पम्प (अटो ग्यास रिफिलिङ)लाई जनही ३ लाख रुपैयाँका दरले जरिवाना गराएको हो ।
विभागका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित अनिल किराना पसलले तोकिएको मूल्यभन्दा निकै बढी प्रतिसिलिन्डर २ हजार ६०० रुपैयाँसम्म असुल गरेर सुगम लगायतका ग्यास बिक्री गरिरहेको फेला परेको थियो ।
उपभोक्ताको उजुरीका आधारमा पुगेको विभागको टोलीले पसललाई नियन्त्रणमा लिई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । सरकारले तोकेको आधिकारिक दरभन्दा बढी मूल्य लिने र ढुवानी भाडाको बहाना बनाएर सर्वसाधारण ठग्ने नियत देखिएपछि स्थलगत रुपमै यो कारबाही गरिएको हो ।
यसैगरी, ललितपुरको बालकुमारीस्थित ग्यास पम्पले ग्यास टेम्पो र माइक्रोलाई ग्यास नदिई मिलेमतोमा आफ्ना मान्छे र पहुँचवालालाई मात्र वितरण गरेको अभियोगमा ३ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
पम्पले नियमविपरीत अपारदर्शी ढङ्गले ग्यास बिक्री गरेको र बिक्रीको आधिकारिक बिलसमेत नराखेको पाइएपछि विभागले कारबाही गरेको हो । पसललाई हिजो र पम्पलाई केही दिन अघि जरिवना गरेको हो ।
वाणिज्य विभागका सूचना अधिकारी अनिल किरातीले बजारमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र उपभोक्तालाई मर्कामा पार्ने जोकोही व्यवसायीलाई कानुनबमोजिम कारबाही गरिने बताएका छन् ।
विभागले उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनलाई तीव्र बनाएको छ भने उपभोक्तालाई पनि कहीँ–कतै ठगी वा अनियमितता भएको पाइएमा तुरुन्त विभागमा सूचना दिन आग्रह गरेको छ ।
