सर्लाही, १ असाेज । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर कर्मचारी घाइते भएको घटनामा कार्यालय प्रमुखलाई दोषी ठहर गरेको छ । 

प्राधिकरणले गरेको आन्तरिक छानबिनमा सम्बन्धित कार्यालय प्रमुख र प्राविधिक कर्मचारीले सुरक्षा मापदण्डलाई सावधानीपूर्वक पालना नगराउँदा उक्त घटना हुन पुगेको खुलेको हो ।

मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर (शेरबहादुर मगर) १५ केभी प्रसारण लाइनको डिस्क पिन फेर्ने क्रममा २०८२ चैत ११ गते करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो ।

घटनापछि प्राधिकरणले छानबिन गराउँदा कार्यालय प्रमुख र प्राविधिक कर्मचारीले सुरक्षा मापदण्ड पालना नगरेको खुलेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा हालै बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बैठकले सुरक्षा मापदण्डलाई सावधानीपूर्वक एवं पूर्ण रूपले पालना नगरी काम गराएको कारण नै उक्त दुर्घटना भएको ठहर गरेको छ । बैठकमा मन्त्री श्रेष्ठले लापरवाही गर्ने कार्यालय प्रमुख र विभागीय प्रमुखलाई कारवाही गर्न निर्देशन दिएका थिए । 

त्यसपछि सञ्चालक समितिले यस किसिमका लापरबाही दोहोरिन नदिन सम्बन्धित कार्यालय प्रमुख र जिम्मेवार प्राविधिक कर्मचारीहरूलाई अधिकार प्राप्त अधिकारीमार्फत नियमानुसारको प्रक्रिया पूरा गरी विभागीय कारबाही गर्न व्यवस्थापनलाई निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *