सर्लाही, ०३ असोज । संविधान दिवसको अवसरमा मलंगवा नगरपालिकाले आयोजना गरेको दुई माइल खुला दौड प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ९० कर्मचारी सहभागी भएका छन् ।
जिल्ला प्रहरी कार्यालयको गेटअगाडिबाट सुरु भएको दौड जिबिसी चोकमा पुगेर सम्पन्न भएको थियो भने त्यसपछि निजामती कर्मचारीसहित करिब ११५ जनाको सहभागितामा नगर परिक्रमा गर्दै प्रभातफेरी निकालिएको थियो ।
कार्यक्रममा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्रप्रसाद यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुबेदी, कालिध्वज गण पाँचकुमारी ब्यारेक नवलपुरका प्रमुख सेनानी उमेश खड्का, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल तथा सशस्त्र प्रहरी बल नेपाल नं. १० हेडक्वार्टर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीलगायतको उपस्थिति थियो ।
दौड प्रतियोगितामा नेपाली सेनातर्फ सिपाही विनोद लोहार प्रथम, सिपाही रिजनबहादुर रावत द्वितीय र सिपाही ललित पुन तृतीय भए ।
सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी जवान विनोद यादव प्रथम, सशस्त्र प्रहरी जवान विवेक यादव द्वितीय र सशस्त्र प्रहरी जवान पवन कार्की तृतीय भए ।
दौड प्रतियोगिता बिहान ९ बजे सम्पन्न भएपछि सोही स्थानबाट प्रभातफेरी सुरु गरिएको थियो। करिब ११५ जनाको सहभागितामा नगर परिक्रमा गरिएको प्रभातफेरी बिहान ९ः३० बजे सम्पन्न भएको आयोजकले जनाएको छ ।
