सर्लाही, २१ असोज । १० भदौको भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा रोकिएको साहसिक जलयात्रा (र्याफ्टिङ) पुनः सञ्चालनमा आएको छ ।
बाढीका कारण नदीको बहाव र जलस्तरमा उतारचढाव आएपछि सुरक्षालाई ध्यानमा राख्दै केही समय र्याफ्टिङ सेवा रोकिएको थियो । नदीको बहाव सामान्य अवस्थामा फर्किएपछि जलपर्यटन व्यवसायीहरूले याफ्टिङ सेवा पुनः सञ्चालनमा ल्याएका हुन् ।
र्याफ्टिङ सञ्चालन गर्नुअघि जलयात्रा विज्ञ, अनुभवी गाइड तथा प्राविधिकहरूको टोलीले त्रिशूली नदीका प्रमुख र्याफ्टिङ रुटको स्थलगत अनुगमन तथा अध्ययन गरेको थियो ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा) ले नदीको वर्तमान अवस्था, बहाव, धार तथा र्याफ्टिङ रुटमा आएको परिवर्तनबारे स्थलगत निरीक्षण गरेपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
बाढीपछि नदीका केही स्थानमा नयाँ ‘र्यापिड्स’ बनेका छन् भने केही पुराना धार परिवर्तन भएका छन् । तर अहिलेको बहाव र नदीको अवस्था र्याफ्टिङका लागि अनुकूल र सुरक्षित रहेको विज्ञहरूले बताएका छन् ।
नाराका अध्यक्ष कमल ठकुरीले त्रिशूली नदीमा पटक–पटक अध्ययन तथा निरीक्षण गरेपछि र्याफ्टिङ पुनः सञ्चालन गरिएको बताए । उनका अनुसार बाढीपछि पनि त्रिशूलीमा र्याफ्टिङ सञ्चालन गर्न जोखिमपूर्ण अवस्था छैन ।
‘त्रिशूली नदीको गल्छीदेखि मुग्लिङसम्म खोलाको धारमा खासै परिवर्तन भएको छैन । त्यसैले ढुक्क भएर र्याफ्टिङ गर्न सकिन्’, उनले भने, ‘खोला एकदम सफा र क्लिन छ ।
हामीले अपनाउनुपर्ने सबै सेफ्टी प्रोटोकल अपनाएका छौँ । बच्चादेखि वृद्धसम्म सबैले आएर मज्जाले र्याफ्टिङ गर्न सक्नुहुन्छ । नदी एकदमै सुरक्षित छ ।’

नाराका पूर्वअध्यक्ष सूर्यप्रसाद जोशीले अहिलेको पानीको स्तर र बहावको गति साहसिक खेलप्रेमीका लागि अझ उत्कृष्ट र रोमाञ्चक बनेको बताए । ‘
अबदेखि त्रिशूली नदीमा व्यावसायिक रूपमा जुनसुकै कम्पनीले पनि र्याफ्टिङ गर्न सक्छन् । हामीले रेकी ट्रिप गरेका थियौँ । त्यसमा पूर्ण रूपमा सुरक्षित देखिएपछि व्यावसायिक रूपमा र्याफ्टिङ सुरु गर्ने निर्णय गरेका हौँ’, उनले भने ।
नाराका कोषाध्यक्ष हितमान गुरुङले त्रिशूली नदीमा र्याफ्टिङ सञ्चालन गर्दै आएका कम्पनीहरूलाई सेवा पुनः सञ्चालन गर्न आग्रह गरेका छन् । ‘बाढीपछि रोकिएको र्याफ्टिङ व्यवसायलाई पुनः नियमित बनाउन सके यस क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आश्रित व्यवसायीलाई राहत पुग्ने विश्वास छ’, उनले भने ।
उनका अनुसार काठमाडौंबाट चितवन, पोखरा र लुम्बिनी जाने विदेशी तथा नेपाली पर्यटकले त्रिशूलीमा र्याफ्टिङ गरेर यात्रा गर्न सक्छन् ।
रिभर साइड स्पा एन्ड रिट्रिट तथा त्रिशूली रिभर साइड रिसोर्टका सञ्चालक उद्धव कँडेलले र्याफ्टिङ सञ्चालनमा आएसँगै त्रिशूली नदीमा आधारित पर्यटन व्यवसाय पुनः लयमा फर्किने विश्वास व्यक्त गरे ।
‘भदौ १० गते आएको बाढीपछि अहिलेसम्म पर्यटकको आगमन निकै कम थियो । यहाँ सञ्चालित अधिकांश पर्यटन व्यवसाय त्रिशूली नदीमा नै आधारित छन् ।
बाढीपछि यहाँको पर्यटन सुस्ताएको थियो । अब र्याफ्टिङ सुरु भएको छ । त्यसपछि पर्यटन पनि चलायमान हुन्छ भन्ने विश्वास लिएका छौँ,’ कँडेलले भने ।
नाराले त्रिशूली नदीमा र्याफ्टिङ सञ्चालन गर्दै आएका कम्पनीहरूलाई आवश्यक सावधानी अपनाउँदै सेवा पुनः सुरु गर्न आग्रह गरेको छ । लामो समयसम्म सेवा रोकिँदा व्यवसायी तथा यसमा निर्भर श्रमिकमा परेको असर कम गर्न र पर्यटन गतिविधिलाई पुनः चलायमान बनाउन र्याफ्टिङ सञ्चालन महत्त्वपूर्ण हुने नाराको भनाइ छ ।
