सर्लाही, २३ असाेज । वडा दशैंको तयारीस्वरूप सर्लाहीको मलंगवा नगरपालिका-१० स्थित तीन बिघे मैदानमा दुर्गा पूजा तथा नवनिर्मित मन्दिरमा मूर्ति स्थापना गर्ने तयारी तीव्र पारिएको छ ।
वडा दशैंको अवसरमा वडा नम्बर १० का वडाध्यक्ष मुकेश कुमार झाको नेतृत्वमा मन्दिर तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको छ ।
आज (शुक्रबार) तीनबिघे मैदान आसपासका विभिन्न सडकमा वडाध्यक्ष झाको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको हो । अभियानमा वडाका कर्मचारी, समाजसेवी तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।
दशैंलाई लक्षित गरी धार्मिक स्थल तथा आसपासका क्षेत्रलाई स्वच्छ र सफा बनाउने उद्देश्यले सरसफाइ गरिएको जनाइएको छ ।
