सर्लाही, २७ असाेज । नेपालले भारतबाट उखुका उन्नत चार जात भित्र्याएको छ ।
उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको हो ।
लखनउमा रहेको भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका उन्नत जातमध्ये सिओएलके–१६२०२, सिओएलके–१६४७०, सिओएस–१७२३१ र सिओएस–१८२३१ नेपाललाई दिएको हो ।
बाराको जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा ती जात नेपालमा भित्र्याइएको हो ।
काठमाण्डौमा भएको कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उन्नत जातको उखुका बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढी छ । नार्कले दुई वर्षसम्म विभिन्न अनुसन्धान केन्द्रमा परीक्षणपछि उपयुक्त जात दर्ता गरेर किसानसम्म पुर्याउने योजना बनाएको छ ।
यी जातको सफल विस्तारपछि उखु उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई नेपाल चिनीमा आत्मनिर्भर हुने नार्कको विश्वास छ ।
