काठमाण्डाैं, ०५ कार्तिक । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले बुधबार जारी गरेको विज्ञप्तिअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्राधिकरणले जनाएको छ ।
यसअघि बुधबार नै साउदी अरबको हवाई प्रतिरक्षा प्रणालीले शेइबा तेल क्षेत्रमा रहेको साउदी अरामकोको एक संरचनालाई लक्षित गरी आएको ड्रोनलाई अवरोध गरेको थियो । त्यस क्रममा दुई जनाको मृत्यु भएको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ ।
यमनमा हुथी विद्रोही र साउदी अरबको समर्थन प्राप्त अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारबीच द्वन्द्व चर्किरहेका बेला साउदी अरबका विमानस्थललाई लक्षित गरी आक्रमणका घटना बढेका छन् ।
गत साता अक्टोबर ११ मा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा एक जनाको मृत्यु र ११ जना घाइते भएको साउदी अरबले जनाएको थियो । त्यसको अघिल्लो दिन, अक्टोबर १० मा सोही विमानस्थलमा भएको अर्को आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको थियो ।
अमेरिकाद्वारा आफ्ना कर्मचारीलाई साउदी अरबबाट बाहिरिन आदेश
यसैबीच, हुथी विद्रोहीका आक्रमण जारी रहेपछि अमेरिकाले साउदी अरबस्थित आफ्ना कूटनीतिक नियोगमा कार्यरत कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई त्यहाँबाट बाहिरिन बुधबार आदेश दिएको छ ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले क्षेत्रका अन्य केही अमेरिकी नियोगबाट पनि कर्मचारीका परिवारलाई फिर्ता लैजाने योजना रहेको जनाएको छ ।
अमेरिकी दूतावासले पनि बुधबार रियादमा सुरक्षा सतर्कता जारी गर्दै हुथी विद्रोहीबाट साउदी अरबमाथि थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ ।
साउदी अरबका विमानस्थल तथा तेल पूर्वाधारलाई लक्षित आक्रमणका घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।
