सर्लाही, ०९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगितामा विगतकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
एनपीएलका सबै खेलहरूको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले गर्नेछ ।
आजको उदघाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । यी दुईबीचको खेल अपराह्न साढे चार बजे सुरु गर्ने तालिका छ ।
तेस्रो एनपीएलको सिंगल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर ५ गते उपाधि भिडन्त हुनेछ ।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार एनपीएल तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने जानकारी दिए । यसैगरी उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
अघिल्ला संस्करणको तुलनामा यस वर्ष नगद पुरस्कार रकम बढाइएको छ । गत संस्करणको विजेता लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएर च्याम्पियन बन्दा एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो ।
आईसीसीबाट मान्यता, विदेशी स्टार खेलाडीको सहभागिता
एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएको छ । त्यसैले यस संस्करणमा विदेशी स्टार खेलाडीहरूको समेत उल्लेख्य सहभागिता छ ।
अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाण्डु गोर्खाजबाट खेल्दैछन् ।
वेस्ट इन्डिजका आन्द्रे रसेल तथा श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ अशलंका बिराटनगर किङ्गसमा अनुबन्ध भएका छन् ।
सेरफान रदरफर्ड र फेबिएन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।
बंगलादेशका अलराउन्डर सकिब अल हसन, मोहम्मद सैफुदिन, साकिब अल हसन र महेदी हसन पोखरा एभेन्जर्समा अनुबन्ध छन् ।
यसैगरी दक्षिण अफ्रिकाका फिनिसर डेभिड मिलर, पाकिस्तानका हुसैन तलात र शाहबजाद परहान तथा बंगलादेशका अरिफुल इस्लाम र अकबर अली कर्णाली याक्समा अनुबन्ध भएका छन् ।
लुम्बिनीमा बंगलादेशका अलराउन्डर सामी हुसेन अनुबन्ध छन् ।
पाकिस्तानका अलराउन्डर मोहम्मद नवाज, हैदर अली, उस्मान मिर, हसन अली, इफ्तिखर अहमद, इंग्ल्यान्डका मोइन अली, न्यूजिल्यान्डका जिम्मी मिसन, विश्व नम्बर एक अलराउन्डर सिकन्दर राजा (जिम्बाबेका कप्तान) लगायत स्टार खेलाडीहरूको खेल पनि यसपटक एनपीएलमा देख्न पाइने छ ।
पहिलोपटक डीआरएस प्रयोग
यस प्रतियोगितामा नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्ट (डीआरएस) को प्रयोग हुने छ ।
अब थर्ड अम्पायरहरूले अनफिल्ड अम्पायरलाई निर्णय दिन कठिनाइ भएको अवस्थामा डीआरएस प्रविधिको सहायता लिइने छ ।
विशेष, एलबीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, वाइडका निर्णय गर्नुका साथै छक्काको दुरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुने छ । प्रत्येक टोलीले एकपटकमा दुई वटा ‘रिभ्यू’ लिन पाउने नियम छ ।
