सर्लाही, १६ कार्तिक । मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेलसेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ ।
नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सातामा एकदिन भारतको अयोध्याबाट जनकपुरधाम आउने गरी रेल सञ्चालनका लागि तयारी भइरहेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा विशेष रेलसेवाको उद्घाटन गर्ने गरी दुवै पक्षबिच तीव्र रूपमा तयारी भइरहेको नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विशेष रेलसेवा सञ्चालनका लागि नेपाल र भारतका रेलवे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबिच विभिन्न चरणमा छलफल भइरहेको रहेको छ । हामीले नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा उद्घाटन गर्ने गरी तयारीमा लागेका छौँ ।
रेलसेवा उद्घाटनको औपचारिक मिति भने अझै तय नभएको प्रबन्ध सञ्चालक पराजुलीले बताउनुभयो । उहाँले नेपालको धार्मिक नगरी जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म रेलसेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय कामकाजको तयारी भइरहेको जानकारी दिनुभयो ।
नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा दुवै पक्षबिच सैद्धान्तिक सहमति भएको उहाँले बताउनुभयो ।
केही दिनअघि नेपाल र भारतका गरी दुवै देशका रेलवे, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो ।
रामायण सर्किट अन्तर्गत सञ्चालन गर्न लागिएको उक्त रेलसेवाले नेपाल र भारतबिचको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
माता जानकीको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रेलसेवामार्फत जोड्ने योजनाले दुवै देशका धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई तीर्थाटन गर्नमा सहज हुने जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दासले बताउनुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेलसेवा सञ्चालनले दुवै देशबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पर्यटन र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
उहाँले विशेष रेलसेवा सञ्चालनमा आएपछि जनकपुरधामको होटेल, यातायात र व्यापारको कारोबारमा बढोत्तरी हुने बताउनुभयो ।
नेपालमा भारतको जयनगरदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालनमा रहेको छ ।
