सर्लाही, १६ कार्तिक । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले विचौलिया इनम सापकोटासँग जोडिएका विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नेसहित पाँच वटा निर्णय गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशलाई लिएर आएका समाचारका विषयलाई लिएर सोमबार सर्वोच्चको पूर्ण बैठक बसेको हो । अहिले सञ्चार माध्यममा आइरहेका समाचारका विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार श्रेत्रीले जनाएका छन् ।
सर्वोच्चको पूर्ण बैठकले विभिन्न पाँच निर्णय गरेको छ । जसमा संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन आग्रह गरिएको छ ।
‘संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबछता हो । यसमा हामी अडिग र स्पष्ट छौं,’ पूर्ण बैठकको पहिलो निर्णयमा भनिएको छ, ‘संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौं ।’
यससँगै सर्वोच्चको पूर्ण बैठकले सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विषयमा निष्पक्ष छानबिन गर्न पनि माग गरेको छ । दोस्रो निर्णयमा भनिएको छ, ‘सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुन बमोजिम छानबिन गरी सत्य, तथ्यसहितको निश्कर्ष यथाशिघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गर्दछौं ।’

