सर्लाही, १६ कार्तिक । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र लगाइएका आरोपप्रति आपत्ति जनाउँदै ती समाचारहरू निराधार, कपोलकल्पित र भ्रम फैलाउने उद्देश्यबाट प्रेरित रहेको जनाएको छ ।

सभापति गगनकुमार थापाको सचिवालयले जारी गरेको विज्ञप्तिमा सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलमाथि सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको दाबी गरिएको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसले पार्टी विधान र प्रचलित कानुनअनुसार विशेष महाधिवेशन सम्पन्न गरेको तथा त्यसबाट नेतृत्व र निर्णयको आधिकारिकतासम्बन्धी विषय निर्वाचन आयोग र अदालतका निर्णयबाट पुष्टि भइसकेको उल्लेख छ । साथै, संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप सुदृढ बनाएको दाबी गरिएको छ ।

कांग्रेसले लोकतन्त्र, नागरिक स्वतन्त्रता, जनअधिकार र विधिको शासनका पक्षमा पार्टीले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै सरकार लोकतान्त्रिक मूल्य र मान्यताविपरीत अघि बढ्दा त्यसको सशक्त प्रतिवाद गर्ने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा बिचौलियासँग सम्बन्धित विषय तथा त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने कांग्रेसको धारणा पुनः दोहोर्‍याइएको छ ।

दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने र यसमा सरकारलाई पार्टीको पूर्ण साथ तथा समर्थन रहने जनाइएको छ ।

तर, अनुसन्धानसँग सम्बन्धित नेपाल प्रहरीको छापसहितका कागजात, तथ्य तथा कथित बयानहरू छानिछानी सार्वजनिक भइरहेको विषयले अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको सचिवालयको भनाइ छ ।

यसले प्रमाण लुकाउने वा नष्ट गर्ने तथा समग्र अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने प्रयास भइरहेको हो कि भन्ने आशङ्का उत्पन्न गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *