पूर्वी भारतमा दोस्रो चक्रवात, हजारौँ सुरक्षित स्थानमा सारिए

Byसदाम हुसैन

२०८३ कार्तिक १७, मंगलवार २०८३ कार्तिक १७, मंगलवार २०८३ कार्तिक १७, मंगलवार

काठमाडौं, १७ असोज । एक साताभित्र दोस्रो चक्रवात आएपछि पूर्वी भारतमा मंगलबार भारी वर्षा भएको छ । चक्रवात मुरासुका कारण सम्भावित जोखिमबाट जोगाउन हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने विद्यालय बन्द गर्नुका साथै रेल र केही हवाई सेवा रोकिएको छ ।

भारतीय मौसम विभागका अनुसार चक्रवात मुरासु मंगलबार बिहान आन्ध्र प्रदेशको प्रकाशम जिल्लास्थित ओङ्गोलनजिकै तटीय क्षेत्रमा प्रवेश गरेको थियो । त्यसबेला आँधीको अधिकतम हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर थियो ।

चक्रवात कमजोर हुँदै गए पनि त्यसपछि केही घण्टासम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । अधिकारीहरूले वर्षाका कारण तल्लो क्षेत्रमा बाढी आउनुका साथै जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । भारतीय मौसम विभागका अनुसार तटीय क्षेत्रमा १.५ मिटरसम्म अग्लो समुद्री छाल उठ्न सक्ने सम्भावना छ ।

आँधी आउनुअघि नै अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेका थिए । सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गरिएको थियो भने रेल सेवा र केही उडानसमेत रोकिएका थिए ।

मुरासु चक्रवात बङ्गालको खाडीमा विकसित भएको हो । यस क्षेत्रको न्यानो समुद्री पानीले पूर्वी भारत, बङ्गलादेश र म्यान्मामा प्रभाव पार्ने घातक चक्रवातलाई ऊर्जा प्रदान गर्दै आएको छ ।

यसअघि गत साता चक्रवात अर्नबले आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको थियो । उक्त चक्रवातका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने घर तथा पूर्वाधारमा क्षति पुगेको थियो । साथै, करिब दुई लाख एकड खेतीयोग्य जमिन डुबानमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *