सर्लाही, १८ कार्तिक । सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले छापा मारेको छ ।

टोलीले आज (बुधबार) बिहान करिब १० बजे भूमि प्रशासन कार्यालयको प्रशासन शाखाअन्तर्गत मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमल्सिनालाई पक्राउ गरेको हो । लालबन्दी निवासी तिमल्सिनालाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको बताइएको छ ।

प्राप्त जानकारीअनुसार ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित जग्गाको मोही नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम गरिदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस मागेको आरोप छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाको पुष्टि गर्दै पक्राउ परेका कर्मचारीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

घटनाबारे अख्तियारको टोलीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *