सर्लाहीमा जुवा खेलिरहेको अवस्थामा २६ जना पक्राउ

Byसदाम हुसैन

२०८३ कार्तिक २३, सोमवार २०८३ कार्तिक २३, सोमवार २०८३ कार्तिक २३, सोमवार

सर्लाही, २३ कार्तिक । सर्लाही प्रहरीले जुवा तथा तास खेलिरहेको अवस्थामा विभिन्न तीन स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय रुपैयाँसहित जुवा खेल्न प्रयोग हुने सामग्री तथा मोबाइल फोन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति करिब २:३० बजेको समयमा प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी टोलीले ब्रह्मपुरी गाउँपालिका-१ र मलंगवा नगरपालिका-८ तथा वडा नं. २ का विभिन्न स्थानमा छापा मारेको थियो ।

प्रहरीले ब्रह्मपुरी गाउँपालिका-१ निवासी करिब ५० वर्षीय धनिष साह कलवारको कुखुरा फार्म र सोही स्थानमा रहेको सन्तोष साहको घरमा जुवा खेलिरहेको अवस्थामा १७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । कुखुरा फार्मबाट १० जना र सन्तोष साहको घरबाट सात जना पक्राउ परेका हुन् ।

त्यसैगरी, मलंगवा नगरपालिका-८ स्थित कोल्डस्टोर नजिक भागनारायण चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा थप नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले तीनवटै स्थानबाट गरी नेपाली नगद ९ लाख ४९ हजार ९८५ रुपैयाँ र भारतीय नगद ४ हजार ५० रुपैयाँ बरामद गरेको छ । त्यस्तै, २५ थान मोबाइल फोन, तीन बुक तास, चेक तथा जुवा खेल्न प्रयोग हुने अन्य सामग्रीसमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नियन्त्रणमा राखिएको छ ।

प्रहरीले जिल्लामा अवैध जुवातास नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *