सर्लाही, ०६ भदाै। गोडैता नगरपालिकाले सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन प्राप्त गरेको छ । शुक्रबार गोडैता नगरपालिका–९ बकैनियामा सम्पन्न कार्यक्रममा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासले निर्माण सम्पन्न उक्त भवन नगरप्रमुख देवेन्द्र कुमार यादवलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

करिब २ करोड २५ लाख रुपियाँ लागतमा निर्माण भएको भवनमा अपाङ्गमैत्री संरचना, माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी ल्याब, तालिम हललगायत आधुनिक सेवाका लागि आवश्यक पूर्वाधारहरू समेटिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले भवनलाई बहुउपयोगी रूपमा प्रयोग गरिने बताउँदै यसबाट कृषकहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सुविधा सम्पन्न प्रयोगशाला सञ्चालनमा आएसँगै किसानलाई बाहिर उपचार वा परीक्षणका लागि धाउन नपर्ने छ ।

यो भवन सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण साबित हुनेछ । ”सो अवसरमा वडा नं. ९ का वडाध्यक्ष दसै सहनीले भवनले कृषि तथा पशुपालन क्षेत्रमा ठूलो मद्दत पुग्ने उल्लेख गर्दै आधुनिक प्रविधि प्रयोगमार्फत उत्पादन वृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

वडा नं. ८ का वडाध्यक्ष बिनेस दासले कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको गोडैतामा यो भवनले किसानको जीवनस्तर र आयवृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोजना प्रमुख रविन्द्र महतोले भवनमा तालिम हल, प्रयोगशाला र भेटेरीनरी ल्याबलगायत सम्पूर्ण सुविधा समेटिएको जानकारी दिनुभयो । गत वर्ष असारमा नगरप्रमुख यादवले शिलान्यास गर्नुभएको यो भवन करिब एक वर्षमै निर्माण सम्पन्न गरी विजय सिर्जना भगत ग्रुप जेभीले हस्तान्तरण गरेको हो ।

भवन हस्तान्तरण कार्यक्रममा सहभागी स्थानीय कृषकहरूले नयाँ संरचनाले कृषि क्षेत्रमा ठोस परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै नगरपालिकाप्रति आभार प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *