एजेन्सी, २७ भदाै । तीन दिनअघि कतारमा हमास नेताहरूमाथि इजरायलले गरेको आक्रमणप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ढिलो र कमजोर प्रतिक्रिया देखिएको भन्दै विश्लेषकहरूले यसले खाडी क्षेत्रमा अमेरिकाको सैन्य साझेदारीमाथि प्रश्न उठाएको बताएका छन् ।
आक्रमणपछि ट्रम्पले शुरुमा दुःख लाग्यो भने पनि औपचारिक रूपमा इजरायलको निन्दा नगरेको अलजजिराले जनाएको छ । आक्रमणबारे कतारलाई पहिले जानकारी दिइएको दाबी दोहाले अस्वीकार गरेको छ ।
आक्रमणमा एक सुरक्षा अधिकारीसहित छ जनाको ज्यान गएको थियो ।
अरबी विज्ञ खलिल जहसानले ट्रम्पको प्रतिक्रियालाई विरोधाभासी र कमजोर भन्दै महाशक्ति राष्ट्रको योग्यता अनुरूपको भूमिका नभएको टिप्पणी गर्नुभयो । बेकर्स इन्स्टिच्युटका क्रिस्टियन कोट्स उल्रिखसेनले यसले अमेरिकाको मध्यस्थकर्ताको भूमिकामाथि गम्भीर प्रश्न उठाएको बताउनुभएको छ ।
इजयारली प्रधानमन्त्री नेतान्याहुले कतारमा फेरि आक्रमण गर्ने चेतावनी दिँदै आतङ्ककारीलाई शरण दिने राष्ट्रहरूले यस्तै परिणाम भोग्नुपर्ने बताउनु भएको छ ।
अमेरिकाले इजरायली आक्रमणको पूर्वजानकारी वा मौन सहमति दिएको पुष्टि भए यसले अमेरिकाको खाडी क्षेत्रमा सुरक्षा संवेदनशिलता र राजनीतिक सम्बन्धलाई गम्भीर रूपमा क्षति पु¥याउन सक्ने खबरमा भनिएको छ ।