सर्लाही, २३ कार्तिक । १० दल–समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि आवश्यक कागजात लिएर आइतबार निर्वाचन आयोग जाने भएको छ ।
नेकपाले एकता राष्ट्रिय सम्मेलनकै दिन गत बुधबार आयोगमा नाम र चुनाव चिह्नसहित ठाडो निवेदन दिएको थियो ।
एकतामा संलग्न पार्टीहरूले निर्वाचन आयोगबाट प्राप्त गरेको प्रमाणपत्र, माइन्युट लगायतसहित नयाँ पार्टीको विधान र घोषणापत्रसहित आइतबार आयोगमा जाने नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले बताए । ‘हामीले एकताकै दिन ठाडो निवेदन दिएका थियौँ ।
थप कागजातसहित हामी आइतबार आयोग जाँदै छौँ,’ उनले भने । नेताहरूका अनुसार केन्द्रीय सदस्य टुंग्याउन बाँकी छ । आइतबारसम्म विधानलाई अन्तिम रूप दिने तयारी छ ।
नेताहरूका अनुसार कार्यदलको बैठक आइतबार बिहान बस्दै छ । माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चाले एकता गरेका छन् ।
एकीकृत पार्टीको नाम नेकपा र चुनाव चिह्न तारा छ । आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार बुधबार साँझ आयोगमा निवेदन आएको र थप कागजात आउन बाँकी रहेको बताए ।
‘नेपाली कम्युनिस्ट पार्टीको निवेदन र सम्झौतापत्र आएको छ,’ कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख भट्टराईले भने, ‘विधान र अन्य कागजात आउन बाँकी छ ।’
