सर्लाही, ११ मंसिर । प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनमा भाग लिन निर्धारित समय (१–१० मंसिर) भित्र १०६ दलले निवेदन दिएका छन् । अझै केही दल बाहिर रहेपछि निर्वाचन आयोगले बुधबार चार दिन समय थपेको छ ।

अब चुनावमा भाग लिन दलहरूले १४ मंसिरसम्म निवेदन दिन पाउनेछन् । 

आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका अनुसार बुधबार २६ दलले निर्वाचनमा भाग लिन दल दर्ताको निवेदन दिएका छन् ।

प्राप्त निवेदनहरूमा १८ मंसिरसम्म छानबिन गर्ने र २० गते दर्ता स्वीकृत गरेर निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने आयोगको कार्यक्रम छ ।

निर्वाचन आयोगले चुनाव प्रयोजनका लागि दल दर्ता गर्ने समय चार दिन थपेको छ । आयोगका पदाधिकारीका अनुसार चुनावमा भाग लिन गठन भएका केही नयाँ दल अझै दर्ताकै प्रक्रियामा रहेकाले उनीहरूलाई सहभागी गराउन समय थपिएको हो । 

‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दललगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगको मंसिर १० गतेको बैठकबाट दल दर्ता गर्ने अवधि मंसिर १४ गतेसम्म थप गरिएको छ,’ प्रवक्ता नारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबिच, निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३७ पुगेको छ । बुधबार सविन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वाेदय पार्टी, सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएका छन् ।

यससँगै जेन–जी आन्दोलनपछि मात्रै दर्ता हुने नयाँ दलको संख्या २१ पुगेको छ । महाशाखाका अनुसार अझै १८ नयाँ दल दर्ताको प्रक्रियामा छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *