सर्लाही, ०९ पुष । बजारमा यतिबेला नयाँ आलुको चहलपहल बढ्न थालेको छ । विशेषगरी जाडो मौसम सुरु भएसँगै पहाडी भेग र तराईका विभिन्न क्षेत्रबाट ताजा आलु भित्रिरहेका छन् ।
अहिले बजारमा सेतो आलुको माग बढी देखिए पनि रातो आलुले आफ्नै विशिष्ट गुणका कारण उपभोक्ताको ध्यान खिचिरहेको छ। उपभोक्ताहरू स्वाद र पोषणका आधारमा यी दुईमध्ये कुन रोज्ने भन्ने दोधारमा देखिन्छन्।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार जाडो मौसममा दुवै थरीका आलु शरीरका लागि फाइदाजनक छन्, तर पोषणको हिसाबले रातो आलु केही मात्रामा अगाडि देखिन्छ । रातो आलुमा एन्टी–अक्सिडेन्ट्स र फाइबरको मात्रा सेतो आलुको तुलनामा बढी हुन्छ ।
यसमा पाइने ‘एन्थोसियानिन’ नामक तत्त्वले नै यसलाई रातो रङ दिन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र रुघाखोकीबाट बचाउन मद्दत गर्छ । यसका साथै रातो आलुमा पाइने भिटामिन ‘सी’ ले शरीरको सुन्निने समस्या कम गर्न र पाचन प्रणालीलाई सुधार्न सहयोग पुर्याउँछ ।
अर्कोतर्फ, सेतो आलु कार्बोहाइड्रेट र पोटासियमको मुख्य स्रोत हो। यसले शरीरलाई तुरुन्त ऊर्जा प्रदान गर्नुका साथै जाडोमा शरीरलाई न्यानो राख्न मद्दत गर्छ । सेतो आलुमा पाइने भिटामिन बी६ र सी मुटुको स्वास्थ्य र रक्तचाप नियन्त्रणका लागि लाभदायक मानिन्छ ।
स्वादको कुरा गर्दा रातो आलु पाकेपछि अलि गुलियो र क्रिमी हुने भएकाले सलाद वा रोस्ट गर्नका लागि बढी प्रयोग गरिन्छ भने सेतो आलु दैनिक तरकारी, पराठा र आलु दमका लागि बढी उपयुक्त मानिन्छ ।
