सर्लाही । बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको कार्यक्रमका कारण विवादमा तानिएकी छन् । भारतको उत्तर प्रदेशस्थित धार्मिक नगरी मथुरामा नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको सनीको कार्यक्रमलाई लिएर स्थानीय साधु-सन्तहरूले चर्को विरोध सुरु गरेका हुन् ।
उनीहरूले सनीलाई मथुरा प्रवेशमा रोक लगाउनुपर्ने माग समेत राखेका छन् । मथुराका साधु-सन्तहरूले जिल्ला अधिकारीलाई पत्र लेख्दै उक्त कार्यक्रम रद्द गर्न र आयोजकमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
श्रीकृष्ण जन्मभूमि मन्दिर केसका मुख्य निवेदनकर्ता दिनेश फलाहारी महाराजले यस विषयमा अग्रसरता लिँदै कार्यक्रम रोक्न पत्र बुझाएका हुन् । ब्रजभूमि श्रीकृष्णको रासलीलाको पवित्र स्थल भएको र नयाँ वर्षको नाममा त्यहाँ ‘अश्लीलता’ प्रदर्शन गर्न लागिएको भन्दै उनले आपत्ति जनाएका छन् ।
मथुराको होटल ललिता ग्राउन्ड र होटल दा ट्रकमा सनी लियोनीको यो इभेन्ट हुने तयारी थियो, जसको प्रचार स्वयं अभिनेत्रीले सामाजिक सञ्जालमार्फत गरिरहेकी छन् । दिनेश फलाहारी महाराजका अनुसार विश्वभरका सनातन धर्मावलम्बीहरू भजन-कीर्तन र पूजापाठका लागि मथुरा आउने गर्छन्, यस्तोमा केही मानिसहरूले सुनियोजित रूपमा यो दिव्य भूमिलाई बदनाम गर्न खोजेको आरोप उनले लगाएका छन् ।
साधु-सन्तहरूको यो कडा विरोधपछि अब सनी लियोनीको कार्यक्रम हुन्छ वा हुँदैन भन्नेमा अन्योल बढेको छ । प्रशासनले यस विषयमा के निर्णय लिन्छ भन्ने कुरामा सबैको चासो रहेको छ । मथुरामा सनीको विरोध भएको यो पहिलो पटक भने होइन, यसअघि पनि उनको एउटा गीतका कारण त्यहाँ ठूलो विवाद भएको थियो ।
