साङ्केतिक फोटो ।

सर्लाही, १२ पुष । सर्लाहीको धनकौल गाउँपालिका–५, पासवान टोलमा ट्याक्टर पल्टँदा चालकको मृत्यु भएको छ ।

हरिवनस्थित इन्दुशङ्कर चिनी मिलमा उखु ‘अनलोड’ गरेर फर्कदै गरेको ज १ त ७०१३ नम्बरको ट्याक्टर नहरमा पल्टँदा चालक धनकौल गाउँपालिका–४, महिनाथपुरका ३० वर्षीय अरुण राय यादवको मृत्यु भएको हो ।

आज बिहान नहरभित्र ट्याक्टर खसेर दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

आफूहरु घटनास्थलमा पुग्दा ट्याक्टरको इन्जिनको भागले च्यापिएर चालकको मृत्यु भएको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईले बताए ।

एकान्त ठाउँमा पर्ने गाउँको भित्री सडकमा राति कुन समयमा दुर्घटना भयो भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

बिहान सबेरै खेतबारीमा हिँडेका स्थानीयले देखेपछि मात्रै दुर्घटनाबारे थाहा भएको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक चालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

दुर्घटनामा परेको ट्याक्टर नहरबाट निकालेर इलाका प्रहरी कार्यालय हरकठवामा ल्याइ राखिएको छ ।

केही दिनदेखि बाक्लो मात्रामा हुस्सु, कुहिरो लागेर भिजिबिलिट निकै कम रहेकाले सवारी साधन चलाउँदा गति सिमित गर्न र बत्ती बालेर मात्रै चलाउन प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *