सर्लाही, १७ पुष । जनकपुरधामकी रोशनी झा हत्या प्रकरणमा जिल्ला अदालत धनुषाले आरोपितहरूमाथि फरक–फरक आदेश दिएको छ ।
अदालतले मुख्य आरोपित तथा मृतकका पति प्रसान्त मिश्रलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बुधवार न्यायाधीश सुवासबाबु पुरीको इजलासले घटनाको गम्भीरता, प्रारम्भिक अनुसन्धान प्रतिवेदन र अभियोगको प्रकृति मूल्यांकन गर्दै प्रसान्त मिश्रलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउन आदेश दिएको अदालत स्रोतले जनाएको छ ।
त्यसैगरी, आरोपित सचिन झालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले सचिन झामाथि लागेको अभियोगमा प्रमाणको अवस्था र संलग्नताको स्तर मूल्यांकन गर्दै धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।
अर्का आरोपित डा. धिरेन्द्र झालाई साधारण तारेखमा रिहा गरिएको छ । अदालतले हाल उपलब्ध प्रमाणका आधारमा उनलाई थुनामा राखिरहनु आवश्यक नरहेको ठहर गर्दै साधारण तारेखमा उपस्थित हुने सर्तमा रिहा गरेको जनाएको छ ।
नाबालक आरोपित प्रतिक झालाई संरक्षणको जिम्मा अभिभावकलाई लगाउने आदेश अदालतले दिएको छ । नाबालक भएकै कारण उनलाई कानुनअनुसार संरक्षणमा राख्दै आवश्यक निगरानी र जिम्मेवारी अभिभावकलाई तोकिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका ४ स्थित आफ्नै घरमा रोशनी झाको मंसिर ११ गते मृत फेला परेकी थिइन् । रोशनी झाको हत्या गरिएको माइती पक्षले आरोप लगाउंदै प्रहरीमा उजुरी दिएका थिए ।
चिकित्सक डा.धिरज झा, र प्रमाण नष्ट गरेका ससुराली पक्षको नातेदार पर्ने सचिन झा र प्रतिक झालाई हिरासतमा लिई छानबीन गर्न माग गर्दै मुद्दा दायर गरिएको थियो ।
घटनाबारे ससुरा पक्षले ‘ आत्महत्या’ भएको दाबी गरेपनि माइती पक्षले भने ‘योजनाबद्ध तरिकाले हत्या गरिएको’ आरोप लगाउँदै आएका छन् । हाल मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगमा कार्यरत प्रशान्त मिश्रको चार वर्षअघि सामाजिक रीति रिवाजअनुसार रोशनीसँग विवाह भएको थियो ।
माइती पक्षले रोशनीका पति प्रशान्त र ससुरा रुद्रनारायण मिश्रविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए । उजुरी दर्ता भएपछि प्रहरीले स्थलगत निरिक्षण गर्दै सुसरा र पति दुवैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर पछि ससुराको संलगता नदेखिएपछि सोही दिन दिउँसोतिर छोडिएको थियो ।
