सर्लाही, ०३ माघ । सर्लाहीको धनकौल गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।
धनकौल गाउँपालिका–५ स्थित हरकठवागोठ भन्ने स्थानमा हिजो ना ४ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही स्थानका उमेश महतोकी १० वर्षीया छोरी गौरीकुमारी महतोको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बाटोमा हिँडिरहेका बेला ट्याक्टरको ठक्करबाट बालिका गम्भीर घाइते भएकी थिइन् । घाइते अवस्थामै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
बालिकाको शव पोष्टमार्टमका लागि हालसम्म सोही अस्पतालमा राखिएको छ ।
दुर्घटनापछि ट्याक्टर इलाका प्रहरी कार्यालय हरकठवाको नियन्त्रणमा रहेको छ भने चालकलाई इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए ।
