सर्लाही, २२ चैत । सर्लाही सदरमुकाम मलंगवामा सरकारी कामकाज गराइदिने भन्दै सेवाग्राहीसँग रकम माग गरी कार्यप्रक्रियामा प्रभाव पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर तथा मलंगवा नगरपालिका–३ स्थित मालपोत कार्यालय परिसरमा सेवाग्राहीबाट अनधिकृत रूपमा रकम असुल्ने प्रयास भइरहेको सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रायल सेन्टरबाट मलंगवा नगरपालिका–६ बस्ने रामबिनोद साहका छोरा, अन्दाजी २७ वर्षीय जयप्रकाश साह तथा मलंगवा नगरपालिका–८ बस्ने गान्धी साहका छोरा, अन्दाजी २० वर्षीय रबि साहलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी मालपोत कार्यालयबाट हरिपुर्वा नगरपालिका–६ बस्ने नारायण राय यादवका छोरा, अन्दाजी ४० वर्षीय प्रमोद कुमार यादव, ब्रह्मपुरी गाउँपालिका–७ बस्ने जुगेश्वर रायका छोरा, ४५ वर्षीय नागेन्द्र यादव, मलंगवा नगरपालिका–१ बस्ने योगेन्द्र यादवका छोरा, अन्दाजी ५८ वर्षीय नन्दकिशोर यादव, चन्द्रनगर गाउँपालिका–१ बस्ने राधेश्याम रायका छोरा, अन्दाजी ४५ वर्षीय रामबिनय राय, कबिलासी नगरपालिका–१ बस्ने सुरेन्द्र ठाकुरका छोरा, अन्दाजी ३२ वर्षीय रञ्जन कुमार ठाकुर, चक्रघट्टा गाउँपालिका–२ बस्ने मुनि साहका छोरा, अन्दाजी ४० वर्षीय प्रमोद साह तथा ईश्वरपुर नगरपालिका–५ बस्ने रामबृक्ष महतोका छोरा, अन्दाजी ४१ वर्षीय योगेन्द्र महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *