सर्लाही,२४ चैत्र । कर्मचारी कुटिएको विरोधमा सिराहा नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कर्मचारीमाथि भएको कुटपिटको विरोधमा नगरपालिकामा सेवा ठप्प, तालाबन्दी र अनिश्चितकालीन आन्दोलनको घोषणा गरी कर्मचारीहरू धर्नामा बसेका छन् ।
सिराहा नगरपालिकाका नगर प्रमुख (मेयर) डा. नवीनकुमार यादवले स्वास्थ्य शाखामा कार्यरत कार्यालय सहयोगी रामशरण यादवमाथि विनाकारण कार्यस्थलमै हातपात तथा कुटपिट गरेको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । पीडित कर्मचारी रामशरण यादवको निःशुल्क उपचार र उचित क्षतिपूर्तिको व्यवस्था, राष्ट्रसेवक कर्मचारीमाथि हातपात गर्ने नगर प्रमुखमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही हुनुपर्ने, कार्यस्थलमा कर्मचारीको शान्ति सुरक्षा र आत्मसम्मानपूर्वक काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने र प्रशासन र सम्बन्धित निकायले हाम्रा मागहरूलाई गम्भीरतापूर्वक लिई यथाशीघ्र समाधान गर्नुपर्ने आन्दोलनरत कर्मचारीको माग छ ।
यी माग पूरा नगरेसम्म तालाबन्दी र अनिश्चितकालीन आन्दोलन जारी रहने आन्दोलनमा उत्रिएका शाखा अधिकृत बलिराम यादवले जानकारी दिए । कर्मचारीहरूको आन्दोलनका कारणले नगरपालिकाको सम्पूर्ण कार्य बन्द भएको छ ।
