सर्लाही,२५ चैत्र ।  मधेस प्रदेशका विभिन्न सरकारी कार्यालयमा सेवा लिन जाने नागरिकलाई अनावश्यक झन्झटमा पार्दै आर्थिक शोषण गर्ने बिचौलियाविरुद्ध प्रहरीले कडाइ गरेको छ । सक्रिय अभियानकै क्रममा हालसम्म ३३ जनालाई नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ।

मिडिया समन्वय शाखाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार सेवाग्राहीलाई ‘छिटो काम गराइदिने’ भन्दै अवैध रूपमा अतिरिक्त रकम असुल्ने तथा सेवा प्रक्रियामा बाधा पुर्‍याउने व्यक्तिहरूलाई धरपकड गरिएको हो।

प्रहरीले पर्सा, रौतहट, सर्लाही, धनुषा र महोत्तरीसहित आसपासका जिल्लाका सरकारी कार्यालय वरपर सक्रिय बिचौलियामाथि निगरानी बढाएको छ । नियन्त्रणमा परेकाहरू यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय, ट्रायल सेन्टरलगायत सेवाग्राही धेरै आउने क्षेत्रमा सक्रिय थिए ।

प्रहरी विवरणअनुसार- पर्सा यातायात व्यवस्था कार्यालय, वीरगञ्ज : ४ जना, मालपोत कार्यालय, पोखरिया : ३ जना, मालपोत कार्यालय, गौर (रौतहट) : ५ जना, मालपोत कार्यालय, चन्द्रपुर : २ जना, सर्लाही ट्रायल सेन्टर, मलङ्गवा : २ जना, मालपोत कार्यालय, मलङ्गवा : १ जना, धनुषा र महोत्तरीका विभिन्न कार्यालय : ४/४ जना यो अनुसार कुल ३३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले अवैध रूपमा सेवाग्राही ठग्ने गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको र यस्ता कृत्यमा संलग्न सबैलाई कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ । त्यस्तै, सरकारी सेवा लिन जाने नागरिकलाई कुनै पनि बिचौलियाको प्रभावमा नपर्न तथा शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गर्न अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *