काठमाडौं,२५ चैत्र । अमेरिका र इरानबीच युद्धविराम प्रयासमा पाकिस्तानको भूमिका ‘निर्णायक’ बनेपछि दक्षिण एशियाको भूमिका पश्चिम एशिया तनाव कम गर्ने मामिलामा प्रष्ट देखिएको छ ।
पछिल्ला कूटनीतिक गतिविधिहरूले इस्लामाबादले आफूलाई क्षेत्रीय मात्र होइन, विश्व कूटनीतिमा पनि पुनः स्थापित गर्ने प्रयास गरिरहेको विश्लेषण हुन थालेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि निर्णायक आक्रमणको धम्की दिँदै एउटा सभ्यताकै अन्त्य हुने धम्की दिएलगत्तै पाकिस्तानका प्रधानमन्त्री शहनाबज सरिफ र सेनापति मुनिरले इतिहासकै खतरनाक युद्धलाई रोक्न निर्णायक भूमिका खेलेको अमेरिका र इरान दुवैले स्वीकार गरेका छन् ।
‘शान्तिदूत’ बन्ने पाकिस्तानको प्रयास
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, पाकिस्तानले अमेरिका र इरानबीच सन्देश आदानप्रदान गराउने, माग-शर्तहरू समन्वय गर्ने र वार्ताको वातावरण बनाउन सक्रिय भूमिका खेलेको थियो ।
अलजजिराले पाकिस्तानले तेहरानसम्म अमेरिकी सन्देश पुर्याएको उल्लेख गरेको छ भने केही पश्चिमी विश्लेषकहरूले यसलाई ‘ब्याक-च्यानल डिप्लोमेसी’ को प्रभावकारी प्रयोग भनेका छन् । यसबीचमा पाकिस्तानका प्रधानमन्त्री र प्रधान सेनापति ट्रम्पसँग सीधै टेलिफोन संवादमा थिए ।
सीएनएनको एक विश्लेषणमा पाकिस्तानले आफ्नो रणनीतिक अवस्थिति (चीनसँगको निकटता र मुस्लिम विश्वसँगको सम्बन्ध) प्रयोग गर्दै आफूलाई ‘ब्रिज स्टेट’ का रूपमा प्रस्तुत गरेको उल्लेख छ । यसले भारतको भूमिकाभन्दा पाकिस्तानको प्रस्तुति विश्व मञ्चमा बलियो देखाएको छ ।
शाहनबाज सरिफको कूटनीतिक उचाइ
प्रधानमन्त्री शाहनबाज सरिफका लागि यो अवसर अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो छवि पुनर्निर्माण गर्ने महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ। आन्तरिक आर्थिक संकट र राजनीतिक दबाबमा रहेका सरिफले बाह्य कूटनीतिमा सक्रियता देखाउँदै ‘विश्वसनीय मध्यस्थकर्ता’ बन्न खोजेका छन् । उनको नामै लिएर ट्रम्प र इरानी राष्ट्रपतिले प्रशंसा गरेका छन् ।
विश्लेषकहरूका अनुसार, यदि युद्धविराम वा तनाव न्यूनिकरणमा पाकिस्तानको भूमिका देखिने गरी सफल भयो भने सरिफको अन्तर्राष्ट्रिय प्रोफाइल उल्लेखनीय रूपमा उकासिन सक्छ ।
दक्षिण एशियामा शक्ति सन्तुलन
यो प्रक्रियाले दक्षिण एशियाको शक्ति समीकरणमा पनि असर पार्ने देखिन्छ। परम्परागत रूपमा क्षेत्रीय नेतृत्वको दाबी गर्दै आएको भारतको तुलनामा पाकिस्तानले कूटनीतिक सक्रियता देखाउँदा शक्ति सन्तुलनमा सूक्ष्म परिवर्तन आउने आँकलन गरिएको छ ।
रोयटर्स र बीबीसीका विश्लेषणहरूले यस्तो परिस्थितिमा पाकिस्तानले ‘जियोपोलिटिकल लेभरेज’ बढाउने सम्भावना रहेको उल्लेख गरेका छन्। विशेषगरी चीन–पाकिस्तान निकटता र पश्चिमसँगको सम्बन्ध सन्तुलन गर्ने प्रयासले उसलाई बहुआयामिक भूमिका खेल्न सहज बनाएको देखिन्छ ।
भारतको सम्भावित प्रतिक्रिया
यस घटनाक्रमले भारतलाई सतर्क बनाउने निश्चितजस्तै देखिन्छ। भारतले आफूलाई अमेरिका र पश्चिमी विश्वको प्रमुख साझेदारका रूपमा प्रस्तुत गर्दै आएको छ। तर पाकिस्तानले संवेदनशील मध्यपूर्वीय संकटमा सक्रिय मध्यस्थता गरेमा नयाँ दिल्लीलाई कूटनीतिक रूपमा ‘साइडलाइन’ भएको महसुस हुन सक्छ।
भारतीय विश्लेषकहरूका अनुसार, यस्तो अवस्थामा भारतले आफ्नो कूटनीतिक सक्रियता बढाउने, विशेषगरी अमेरिका र खाडी राष्ट्रहरूसँगको सम्बन्ध अझ मजबुत बनाउने रणनीति लिन सक्छ। साथै, पाकिस्तानको भूमिकालाई ‘अतिरञ्जित’ रूपमा प्रस्तुत गरिएको भन्दै त्यसको प्रभाव घटाउने प्रयास पनि हुनसक्छ।
विश्व राजनीतिमा नयाँ संकेत
अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार, यो घटनाक्रमले सानो वा मध्यम शक्ति भएका देशहरूले पनि सही समयमा कूटनीतिक पहल गर्दा ठूलो प्रभाव पार्न सक्ने देखाएको छ ।
तर, केही आलोचकहरूले भने पाकिस्तानको भूमिकालाई ‘अस्थायी अवसर’ मात्र मान्दै दीर्घकालीन प्रभावबारे शंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार, स्थायी प्रभावका लागि पाकिस्तानले आन्तरिक स्थायित्व र निरन्तर कूटनीतिक विश्वसनीयता कायम राख्नुपर्नेछ।
अमेरिका–इरान तनाव न्यूनिकरणमा पाकिस्तानको सक्रियता केवल एउटा कूटनीतिक प्रयास मात्र नभई, दक्षिण एशियाली शक्ति समीकरण र विश्व राजनीतिमा उसको पुनःस्थापनाको संकेत पनि हुन सक्छ।
यद्यपि, यो भूमिका वास्तवमै ‘निर्णायक’ बन्ने कि क्षणिक कूटनीतिक चमकमा सीमित रहने भन्ने कुरा आगामी दिनका घटनाक्रमले तय गर्नेछ।
