काठमाडौं,८ वैशाख । दक्षिण भारतीय राज्य तमिलनाडुको एउटा पटाका कारखानामा भएको विष्फोटमा परी २१ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।
सरकारी प्रसारण संस्था अल इन्डिया रेडियो (एआईआर) ले सो कुराको जानकारी दिएको हो । उक्त सञ्चारमाध्यमकाअनुसार कारखानाभित्र कामदारहरूले प्रज्वलनशील रासायनिक पदार्थहरू ओसारपसार गरिरहेका बेला सो दुर्घटना भएको हो ।
विस्फोटको समयमा कारखानाका चार वटा कोठामा गरी करिब ५० जना कामदारहरू उपस्थित रहेको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले आशङ्का गरेका छन् ।
विस्फोट यति शक्तिशाली थियो कि यसले कारखानाको भवनलाई तहसनहस बनाउनुका साथै संरचनामा पूर्ण रूपमा क्षति पुर्याएको अधिकारीहरूले बताएका छन् । प्रहरी र सम्बन्धित निकायले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेका छन् ।
